Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं, नेपाल आयल निगम ले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसन बाट इन्धनको नयाँ खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ। आन्तरिक हवाई इन्धन प्रतिलिटर ६ रुपैयाँ सस्तो भएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ।
निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ। डिजेल/मट्टितेल क्रमशः १३४ रुपैयाँ ५० पैसा, १३६ रुपैयाँ र १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समेटिएका छन्।
यद्यपि एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ३५ पैसाले बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय