Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य चार दिनदेखि लगातार घटिरहेको छ। केही दिनअघि प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य हाल घटेर २ लाख ५९ हजार ६०० रुपैयाँमा झरेको छ। यसरी सुनको मूल्यमा प्रतितोला ११ हजार रुपैयाँको गिरावट आएको हो।

नेपाली बजारमा सुनको मूल्य घटबढको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारसँग जोडिएको हुन्छ। आइतबार (२८ डिसेम्बर) सुनको अन्तर्राष्ट्रिय मूल्य प्रतिऔंस ४५३० अमेरिकी डलर पुगेको थियो भने बुधबार घटेर ४३१७ अमेरिकी डलरमा झरेको छ। यही गिरावटको असर नेपाली बजारमा पनि देखिएको हो।

अन्तर्राष्ट्रिय स्तरमा सुनको मूल्य किन घट्यो भन्ने विषयमा दुई प्रमुख कारण देखिएका छन्। अन्तर्राष्ट्रिय सञ्चार संस्था सीएनबीसी का अनुसार अमेरिकी कमोडिटिज एक्सचेञ्ज संस्था सिकागो मर्कन्टाइल एक्सचेञ्ज (सीएमई) ले बहुमूल्य धातुमा लगाइने मार्जिन दर बढाउनु मुख्य कारण हो। बजारमा मूल्य तीव्र रूपमा बढेपछि जोखिम बढेको भन्दै सीएमईले धातुजन्य वस्तु खरिद गर्दा राख्नुपर्ने मार्जिन बढाएको थियो। यसका कारण लगानीकर्ताहरूले मार्जिन कायम गर्न सुन बेच्नुपर्ने अवस्था सिर्जना भयो, जसले मूल्य घटायो।
अर्को कारण नाफा बुकिङ रहेको बताइएको छ। सन् २०२५ मा मात्रै सुनको अन्तर्राष्ट्रिय मूल्य करिब ६६ प्रतिशतले बढिसकेको छ। नयाँ वर्ष नजिकिँदै जाँदा ठूला लगानीकर्ता तथा संस्थाहरूले नाफा सुरक्षित गर्न सुन बिक्री गर्न थालेपछि पनि अन्तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको विश्लेषण छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय