भोजपुर, प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको समता विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।विद्यालयका बालबालिकालाई पठनपाठनमा थप सहजता प्रदान गर्दै प्रविधिमैत्री कम्प्युटर शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ कम्प्युटर वितरण गरिएको उपप्रमुख शेर्पाले बताउनुभयो । विद्यार्थीहरू निवेदनसहित आफ्नै कार्यकक्षमा आएर कम्प्युटरको माग गरेको जानकारी दिँदै उहाँले शिक्षा क्षेत्रलाई गुणस्तरीय र समयसापेक्ष बनाउन स्थानीय सरकारले विशेष ध्यान दिइरहेको उल्लेख गर्नुभयो ।
“मैले यसअघि पनि विभिन्न विद्यालयमा आवश्यकताका आधारमा सहयोग गर्दै आएकी छु”, उपप्रमुख शेर्पाले भन्नुभयो, “स्थानीय सरकारले शिक्षालाई आधुनिक, गुणस्तरीय र प्रविधिमैत्री बनाउन निरन्तर प्रयास गरिरहेको छ ।” कम्प्युटर प्राप्त भएपछि विद्यालयको पठनपाठन अझ प्रभावकारी हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई समय व्यवस्थापन गरेर नियमित रूपमा कम्प्युटर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
“विद्यालयले कम्प्युटर प्राप्त गरेको छ”, अध्यक्ष प्रधानले भन्नुभयो, “यसले कम्प्युटर शिक्षा सञ्चालन गर्न सहजता थप्ने हाम्रो अपेक्षा छ । विद्यालयले विद्यार्थीलाई प्रविधिमैत्री र समयानुकूल शिक्षा दिन निरन्तर ध्यान दिँदै आएको छ ।” विसं २०७५ सालदेखि सञ्चालनमा आएको समता विद्यालयमा हाल कक्षा ८ सम्म अध्ययन गर्ने ३४३ विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक मुना पाण्डेका अनुसार विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ ।

