ढोरपाटन, यतिबेला अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी जम्ने र बाक्लो तुसारोले हिँडडुलमै समस्या हुने अवस्था छ । चिसो बढेसँगै स्थानीय बासिन्दा बेँसी झरे पनि यस वर्ष जाडो याममै पर्यटकको उल्लेख्य आगमन देखिएको छ ।
अघिल्ला वर्षहरूमा हिउँदमा ढोरपाटन प्रायः सुनसान हुन्थ्यो । तर यसपालि बाह्रै महिना सुन्दरता कायम रहने विशेषताका कारण पर्यटक आकर्षित भएका छन् । ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैका अनुसार अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्नुपरेको छैन ।
पछिल्लो पाँच वर्षमा पर्यटक सङ्ख्या उल्लेख्य रूपमा बढेको बताउँदै उहाँले शुक्रबार–शनिबार करिब २०० र अन्य दिन ३०–५० जना पर्यटक आउने गरेको जानकारी दिनुभयो । बुटवल, पोखरा, काठमाडौँ, चितवन र भैरहवाबाट समेत पर्यटक पुग्न थालेका छन् ।
होटल व्यवसायीहरूका अनुसार खानपान र बसोबासको सुविधा सुधारिँदै जाँदा जाडो याममा समेत अग्रिम कोठा बुकिङ हुने गरेको छ । हाल ढोरपाटन उपत्यकामा करिब ४० हाराहारी होटल सञ्चालनमा छन् ।
चिसो भए पनि यहाँको प्राकृतिक सौन्दर्य, हिमपात र खुला मैदानले पर्यटकलाई लोभ्याएको छ । व्यवसायीहरू सडक पहुँच थप सुधारिएपछि आगामी वर्षदेखि ढोरपाटनमा बाह्रै महिना पर्यटकको चहलपहल रहनेमा आशावादी छन् ।

