कालिकोट, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालीका-१ गगने खोलामा लेदोसहितको ठूलो पहिरो खस्दा सुर्खेत–जुम्ला सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शनिबार साँझ ६:३० बजे गगने खोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।पहिरोका कारण सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला जाने तथा जुम्लाबाट सुर्खेततर्फ आउने सवारीसाधन बाटोमै रोकिएका छन्। पहिरोका कारण यात्रुहरू अलपत्र परेका छन्। कतिपय यात्रु फिर्ता भएर दैलेखको राकम, खिड्किज्युला गएर बसेका छन्। जुम्ला कालिकोटबाट सुर्खेत नेपालगञ्जतर्फ गइरहेका यात्रुहरु फिर्ता भएर हुलमा बजारमा बास बसेका छन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले आज बिहानबाट सडक खुलाउने प्रयास भइरहेको तर ठूलो पहिरो झरेकाले समय लाग्ने बताए।कर्णाली राजमार्गका अन्य स्थानमा समेत पहिरो तथा सडक अवरोध हुनसक्ने भएकाले यात्रुले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।



