सौन्दर्य, संस्कृति, प्रतिभा, परिधान र मानवीय सेवाको संगम बनेको मिस वर्ल्ड २०२६ को ७३औँ संस्करण सेप्टेम्बर ५ मा भियतनामको न्हा ट्राङमा सम्पन्न भयो। संस्थाको ७५औँ वार्षिकोत्सवसँगै आयोजना भएको यस संस्करणमा १११ राष्ट्रका प्रतिनिधि सहभागी थिए। ‘उद्देश्यसहितको सौन्दर्य’को मूल दर्शनलाई केन्द्रमा राख्दै प्रतियोगिताले बाह्य सौन्दर्यभन्दा चरित्र, प्रतिभा, सामाजिक चेतना र मानवीय प्रतिबद्धतालाई प्राथमिकता दिएको थियो।
डोमिनिकन रिपब्लिककी जोहेरी मोल डोमिन्गेज मिस वर्ल्ड २०२६ को विजेता बनिन्। स्पेनकी एलिजाबेथ रेयनेस अलाबेर्न प्रथम उपविजेता तथा मलेसियाकी तानुसिया चेत्ती द्वितीय उपविजेता घोषित भए। जोहेरीको विजयसँगै डोमिनिकन रिपब्लिकले सन् १९८२ पछि दोस्रोपटक मिस वर्ल्ड उपाधि जितेको छ। उनको ‘भोलिका आवाजहरू’ नामक मानवीय अभियानले अवसरबाट वञ्चित समुदायका बालबालिकालाई अंग्रेजी शिक्षा उपलब्ध गराउने लक्ष्य बोकेको छ। यसले मिस वर्ल्डको ‘उद्देश्यसहितको सौन्दर्य’ दर्शनलाई व्यवहारमा उतारेको उदाहरण प्रस्तुत गरेको छ।

लुना लुइटेल : नेपालको उद्देश्यपूर्ण यात्रा
नेपालको प्रतिनिधित्व मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेलले गरिन्। स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण र बालबालिकाका लागि सुरक्षित सिकाइ वातावरणसँग सम्बन्धित उनको मानवीय परियोजना अन्तर्राष्ट्रिय शीर्ष २४ मा छनोट भयो। सांस्कृतिक प्रस्तुतितर्फ उनले मारुनी नृत्यमार्फत नेपालको मौलिक पहिचान विश्वमञ्चमा प्रस्तुत गरिन्।

प्रतिभा विधामा बाँसुरी बजाउँदै ‘जे गर, जसो गर, जता सुकै जाऊ, मलाई यो मन त मेरो नेपाली हो’ प्रस्तुत गरिन्। साथै भियतनामी गीत र मिस वर्ल्डको मूल गीतलाई समेत समेटेकी उनको प्रस्तुति प्रतिभा विधाको शीर्ष २४ मा पुग्यो।

विश्व डिजाइनर विधामा उनले नहमोटको कालो रङको आकर्षक परिधान लगाएकी थिइन्, जसले नेपालको उर्वर ‘कालो माटो’ र कृषि जीवनलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको थियो। राष्ट्रिय पहिरनमार्फत उनले नेपालको परम्परा र सांस्कृतिक विविधतालाई थप उजागर गरिन्।

लुना शीर्ष ४० मा पुग्न नसके पनि उनको यात्रा उपाधिभन्दा पर रहेको प्रतिनिधित्वको उदाहरण बन्यो—जहाँ मानवीय उद्देश्य, सांस्कृतिक पहिचान, प्रतिभा र नेपालीपन एउटै विश्वमञ्चमा प्रस्तुत भए। भियतनामले पहिलोपटक आयोजना गरेको मिस वर्ल्डले संस्कृति, पर्यटन, प्रतिभा, परोपकार र विश्व एकताको सन्देशलाई जोड्यो। अब मे २०२७ मा तान्जानियामा ७४औँ मिस वर्ल्ड महोत्सव आयोजना हुनेछ।



