काठमाडौंको बत्तीसपुतलीस्थित द स्ट्र्यान्ड लाउन्ज एन्ड बारमा आयोजित विशेष समारोहमा ‘मिस युनाइटेड नेसन्स नेपाल २०२६’ को ताज ललितपुरकी २४ वर्षीया स्नेहा राउतले पहिरिएकी छन्। यससँगै उनले भारतमा आयोजना हुने आगामी अन्तर्राष्ट्रिय ‘मिस एन्ड मिसेस युनाइटेड नेसन्स २०२६’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्। थाइल्यान्डबाट बिजनेस स्टडिजमा स्नातक गरेकी स्नेहा राउतले आगामी अक्टोबर ५, २०२६ देखि भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘मिस एन्ड मिसेस युनाइटेड नेसन्स २०२६’ को अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। उक्त अन्तर्राष्ट्रिय सहभागितामार्फत उनले नेपालको सांस्कृतिक वैभव, मौलिक पहिचान, प्रतिभा तथा समकालीन आकांक्षालाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछिन्।

ग्रीन आर्ट्स मिडिया प्रालिको आयोजनामा सम्पन्न समारोहले सौन्दर्यसँगै प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता र नेपालको सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्य बोकेको थियो। समारोहमा अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य तथा प्रख्यात फोटोग्राफर महेश प्रधानलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले स्नेहालाई बधाई तथा शुभकामना दिँदै उनको अन्तर्राष्ट्रिय यात्राका लागि सफलताको कामना गरेका थिए।

राष्ट्रिय ताजसँगै स्नेहा राउतको ‘मिस एन्ड मिसेस युनाइटेड नेसन्स २०२६’तर्फको अन्तर्राष्ट्रिय यात्रा औपचारिक रूपमा प्रारम्भ भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि स्नेहाले फेसन कोरियोग्राफर तथा पेजेन्ट डाइरेक्टर अनिला श्रेष्ठको मार्गदर्शनमा प्रशिक्षण तथा तयारी गर्नेछिन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका प्रतियोगीहरूको मेण्टरिङ, व्यक्तित्व विकास, स्टेज प्रेजेन्टेसन तथा समग्र पेजेन्ट तयारीमा अनुभव हासिल गरेकी श्रेष्ठको निर्देशनमा स्नेहाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका विभिन्न पक्षमा आफूलाई थप परिष्कृत गर्नेछिन्।



