Friday 30 October 2026 / शनिबार, १५ कार्तिक २०८३

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, लगानी प्रवर्द्धन र नेपालीको भविष्यलाई केन्द्रमा राखेर सम्मेलनको तयारी तीव्र पारिएको छ।

मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको अध्यक्षतामा अक्टोबर १० मा सम्पन्न चौथो क्षेत्रीय बैठकले सम्मेलनलाई व्यवस्थित बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको हो। एनआरएनएले अक्टोबर १३ मा सार्वजनिक गरेको विवरणअनुसार व्यवस्थापन, आर्थिक परिचालन, प्रायोजन, अतिथि सत्कार, यातायात, भिसा तथा दर्ता, स्वयंसेवक परिचालन, सञ्चार, सांस्कृतिक कार्यक्रम र घोषणापत्र तयारीलगायतका जिम्मेवारी तोकिएका छन्।

सम्मेलनमा कतार, यूएई, साउदी अरब, कुवेत, ओमान, बहराइन र इराकलगायत मध्यपूर्वका देशमा कार्यरत नेपालीका साझा मुद्दालाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ। रेमिट्यान्समार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याइरहेका श्रमिकका समस्या, श्रम अधिकार, सामाजिक सुरक्षा तथा स्वदेश फर्किएपछिको भविष्य सम्मेलनका प्रमुख विषय बन्नेछन्।

सम्मेलनको मूल आयोजक समितिको संयोजकमा मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ रहेका छन्। समितिमा मध्यपूर्वका डीआरसी, आरडब्लुसी, डीआरवाईसी, डीआरडब्लुसी तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष, महासचिव र पूर्वअध्यक्षहरूलाई समेटिएको छ।
त्यसैगरी, सम्मेलनलाई नीतिगत मार्गदर्शन र परामर्श उपलब्ध गराउन आईसीसी अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ। समितिमा एनआरएनएका पूर्वअध्यक्ष, उपाध्यक्ष, पूर्वउपाध्यक्ष, आईसीसी सदस्य तथा विभिन्न अभियन्ताहरू रहेका छन्।

व्यवस्थापकीय तथा नोट टिपोट समितिको संयोजकमा तेज कँटुवाल र सहसंयोजकमा कतार एनसीसी अध्यक्ष कृष्ण पन्थी रहेका छन्। अतिथि व्यवस्थापन तथा यातायात समितिको संयोजकमा पूर्ण पोखरिया, प्रायोजक व्यवस्थापन समितिको संयोजकमा रमेश श्रेष्ठ र आर्थिक व्यवस्थापन समितिको संयोजकमा विकास शाही रहेका छन्।
त्यस्तै, भिसा, दर्ता तथा शुल्क व्यवस्थापन समितिको संयोजकमा कतार एनसीसीका महासचिव शिव भुजेल रहेका छन्। स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा आईसीसी मध्यपूर्व युवा संयोजक सुजन सापकोटा र उपसंयोजकमा कतार एनसीसीका युवा उपाध्यक्ष टंक विश्वकर्मा रहेका छन्।

सत्र व्यवस्थापन समितिको संयोजकमा रमेश श्रेष्ठ, मिडिया व्यवस्थापन समितिको संयोजकमा करिमबक्स मियाँ, लगानी प्रवर्द्धन व्यवस्थापन समितिको संयोजकमा रमेश श्रेष्ठ र सांस्कृतिक व्यवस्थापन समितिको संयोजकमा रोजेश अर्याल रहेका छन्। घोषणापत्र तयारी समितिमा एनआरएनएका पूर्वअध्यक्ष, पूर्वउपाध्यक्ष तथा विभिन्न अभियन्ताहरूलाई जिम्मेवारी दिइएको छ।
क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई औपचारिक कार्यक्रम र भाषणमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका समस्या, सम्भावना र भविष्यसँग जोड्ने उद्देश्यले तयारी अघि बढाइएको बताएका छन्। सम्मेलनलाई व्यवस्थित, प्रभावकारी र अर्थपूर्ण बनाउन आफ्नो टोली परिचालित रहेको उल्लेख गर्दै उनले विश्वभर रहेका एनआरएनए अभियन्ता, राष्ट्रिय समन्वय परिषद्, आईसीसी पदाधिकारी, नेपाली संघसंस्था तथा सरोकारवालालाई सहयोग, सहभागिता र सहकार्यका लागि आग्रह गरेका छन्।

श्रेष्ठका अनुसार सुरक्षित श्रम आप्रवासन, श्रमिकको हकहित, सामाजिक सुरक्षा, युवा तथा महिला सहभागिता, नेतृत्व विकास, लगानी प्रवर्द्धन र उद्यमशीलता सम्मेलनका प्रमुख प्राथमिकता हुनेछन्।
मध्यपूर्वमा कार्यरत नेपालीले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। तर विदेशमा आर्जन गरेको सीप, अनुभव र पुँजीलाई स्वदेशको उत्पादन, उद्यम तथा रोजगारी सिर्जनासँग जोड्नु पनि उत्तिकै आवश्यक रहेको विषयलाई सम्मेलनले प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।

‘सहयात्रा–२०२६’ को सफलता सम्मेलनको भव्यतामा मात्र नभई श्रमिकका मुद्दामा बन्ने साझा धारणा, नीतिगत सुझाव र घोषणापत्रका प्रतिबद्धता कार्यान्वयनमा निर्भर रहनेछ। सम्मेलनलाई मध्यपूर्वमा रहेका नेपालीबीच एकता र सहकार्य सुदृढ गर्ने तथा विदेशमा आर्जित सीप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय