क्यानडा, क्यानडामा रहेका नेपाली समुदायलाई सामाजिक सेवामा सक्रिय सहभागी गराउने उद्देश्यले फिस्टेल क्लब र नेपाली ब्लड डोनेशन एसोसिएसनको संयुक्त आयोजनामा रक्तदान तथा प्लाज्मा दान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार (अक्टोबर ३१) टोरन्टोस्थित क्यानडियन ब्लड सर्भिसेसको स्कारबोरो डोनेसन सेन्टरमा आयोजित कार्यक्रममा नेपालबाट क्यानडा आई विभिन्न पेसा, व्यवसाय तथा अध्ययनमा संलग्न नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा करिब ५५ जना नेपालीले रक्तदान गरेका थिए।

कार्यक्रममा उच्च शिक्षा अध्ययनका लागि क्यानडा आएका विद्यार्थी, स्थायी आवासीय अनुमति (पीआर) प्राप्त गरी विभिन्न क्षेत्रमा कार्यरत नेपाली तथा लामो समयदेखि क्यानडामा बसोबास गर्दै आएका नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो।

कार्यक्रममा फिस्टेल क्लबका अध्यक्ष शैलेन्द्र वर्माले विदेशमा रहेर पनि नेपाली समुदायले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले यस्ता मानवीय सेवाका गतिविधिले नेपाली समुदायबीच एकता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने बताए।
त्यसैगरी, संस्थाका महासचिव कृष्ण पौडेलले स्वयं रक्तदान गर्दै रक्तदान मानव जीवन बचाउन सहयोग पुर्याउने महत्वपूर्ण मानवीय कार्य भएको बताए। विदेशमा रहेका नेपालीहरूले आफ्नो व्यस्त जीवनका बाबजुद पनि सामाजिक तथा मानवीय सेवाका अभियानमा सहभागी हुनु सकारात्मक पक्ष भएको उनको भनाइ थियो।

“हामी खेलकुद क्षेत्रमा सक्रिय रहँदै आफ्नो स्वास्थ्यको सुरक्षासँगै सामाजिक क्षेत्रमा पनि योगदान पुर्याउन चाहन्छौँ। यही उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएका छौँ,” पौडेलले भने।
उनले रक्तदानलाई एकदिने अभियानका रूपमा मात्र नभई नेपाली समुदायमा मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र स्वयंसेवी भावनाको विकास गर्ने माध्यमका रूपमा लिनुपर्ने बताए। फिस्टेल क्लबले प्रत्येक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको पनि उनले जानकारी दिए।

नेपालबाट अध्ययन, रोजगारी तथा विभिन्न अवसरको खोजीमा क्यानडा आएका नेपालीहरूलाई आफ्नै समुदायभित्र मात्र सीमित नराखी बृहत् मानवीय सेवाका गतिविधिमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकहरूले बताएका छन्।
आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिँदै नेपाली समुदायबीच आपसी सहयोग, एकता र सेवाभाव अभिवृद्धि गर्ने आयोजकहरूको लक्ष्य रहेको छ।
क्यानडामा नेपाली समुदायको उपस्थिति बढ्दै जाँदा रक्तदान, स्वास्थ्य सचेतना तथा मानवीय सहयोगका गतिविधिमा उनीहरूको सक्रिय सहभागिताले समुदायको सामाजिक उत्तरदायित्व र सेवाभावलाई समेत उजागर गरेको छ। खेलकुदका माध्यमबाट संगठित नेपाली समुदायले स्वास्थ्यसँगै सामाजिक सेवामा पनि योगदान पुर्याउन सक्ने उदाहरणका रूपमा यस अभियानलाई लिन सकिन्छ।


