Monday 2 November 2026 / सोमबार, १७ कार्तिक २०८३

टोरन्टो (क्यानडा), कात्तिक १५ गते। क्यानडामा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड क्यानडा २०२६’ प्रदान गरिएको छ।

सिजन मिडिया प्रालि नेपालको आयोजनामा आइतबार क्यानडाको मिसिसागास्थित हक्का खजानामा आयोजित समारोहमा विभिन्न क्षेत्रका ११ जना व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको गरिएको हो।

पत्रकारिता, अध्यागमन कानुन, शिक्षा, उद्यमशीलता, वित्तीय व्यवस्थापन, रियल इस्टेट, संगीत, सञ्चार तथा सामुदायिक सेवाका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।


सम्मानित हुनेमा खसोखास डटकमका प्रधान सम्पादक किशोर पन्थीलाई नेपाली डायस्पोरा पत्रकारिता, अमेरिकी अध्यागमन कानुन व्यवसायी बासु फुलारालाई अध्यागमन कानुन, अनोखी लाइफ तथा द ओपन चेस्ट कन्फिडेन्स एकेडेमीकी संस्थापक राज गिर्नलाई सञ्चार उद्यमशीलता तथा नेतृत्व र इन्डो–क्यानडा चेम्बर अफ कमर्सका उपाध्यक्ष आलोक नागपाललाई रियल इस्टेट तथा उद्यमशीलता नेतृत्व विधामा अवार्ड प्रदान गरिएको छ।


त्यसैगरी पिल रिजनल प्रहरी, ब्राम्पटनकी सामुदायिक प्रतिनिधि गीता दवाडी ढकाल, क्यानडा नेपाल न्युज डटकमका प्रधान सम्पादक शिशिर सिम्खडा र वरिष्ठ संगीतकर्मी अमर शंकर सैंजुलाई पनि अवार्ड प्रदान गरिएको छ।


यसैगरी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यानडाका सल्लाहकार चिरञ्जीवी घिमिरे, अध्यागमन कानुन व्यवसायी अतुल सुवेदी, मार्केटिङ प्राध्यापक तथा चार्टर्ड मार्केटर डा. तुलसी धरेल र रियल इस्टेट व्यवसायी मदन क्षेत्री (माइक) लाई पनि अवार्ड प्रदान गरिएको छ।


कार्यक्रममा सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्वको व्यावसायिक उपलब्धि, अनुभव र समाजप्रतिको योगदानको पहिचान तथा सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

साथै “उक्त समारोहमा ब्राम्पटन हेल्थकेयरमा कार्यरत बेन्जु श्रेष्ठलाई स्वास्थ्य सेवा क्षेत्रमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो।

समारोहमा सम्मानित व्यक्तित्वहरूले आफ्नो व्यावसायिक यात्रा, अनुभव र सामाजिक योगदानबारे धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो।


नेपाल र क्यानडाबीच व्यावसायिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको नारा ‘उत्कृष्टताको सम्मान, भविष्यको प्रेरणा र क्यानडा, नेपाल तथा एसियाबीच सम्बन्ध विस्तार’ रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय