Sunday 6 October 2024 / सोमबार, २१ आश्विन २०८१

गण्डकी, राष्ट्रिय समाचार समिति(रासस)का पोखरा समाचारदाता जमुनावर्षा शर्मा सम्मानित हुनुभएको छ । समाचारका माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएवापत महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा उहाँलाई रु १० हजार, सम्मानपत्र र दोसल्लाबाट गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य पहारीले महिला पर्यटन व्यवसायी सङ्गठित भएर अघि बढ्दा पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले विसं २०५० यता विभिन्न कारणले पर्यटन क्षेत्र प्रभावित हुँदै गएको स्मरण गर्दै अहिले कोभिडका कारण सङ्कटमा परेको बताउनुभयो ।

सन् २०१९ मा चार लाख ८० हजार बाह्य र पाँच लाख आन्तरिक पर्यटक गरी करीब १० लाख पर्यटक पोखरा आएको उहाँले बताउनुभयो । पर्यटन क्षेत्रमा रु १९२ अर्ब प्रत्यक्ष र ५०० अर्ब निजी क्षेत्रको लगानी जोखिममा रहेको उहाँको भनाइ थियो । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले महिला आफ्नो अधिकारका लागि सङ्गठित भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ सहयोग अपरिहार्य हुने बताउनुभयो । कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई गति दिनुपर्ने बताउँदै उहाँले सरकार व्यवसायी मैत्री बन्दै उनीहरूलाई क्षेत्रबाट पलायन हुनबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले अहिलेको अवस्था पर्यटनलाई लय फर्काउन आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष जमुना पराजुलीले महिला पर्यटन व्यवसायीको नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिँदै पर्यटन विकासका लागि लागिरहेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा महानगरपालिका–६ का वडाध्यक्ष जगत पहारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीना भट्टराई, सम्मानित व्यक्तित्व शर्मालगायतले पोखराको पर्यटनलगायत विषयमा बोल्नुभएको थियो । बन्दसत्रले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय