काठमाडौं , समाजमा अहिले पनि महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने मान्यता छ । सामाजिक चरित्रका कारण पनि महिलालाई कमजोर ठान्ने र उनीहरुलाई अवसर नदिने प्रवृत्ति कायम नै छ ।
जतिसुकै राजनीतिक परिवर्तन भएपनि महिलालाई अगाडि बढाउने र उनीहरु पनि हरेक क्षेत्रमा योग्य छन् भन्ने देखाउन आज पनि उत्तिकै गाह्रो छ । तर, भवानी राणा यही सामाजिक चरित्रलाई परास्त गर्दै आफूलाई निरन्तर रुपमा अगाडि बढाइरहनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५२ वर्षको इतिहासमा पहिलो महिला अध्यक्षका रुपमा उहाँले सफल कार्यकाल बिताउनुभयो ।
काठमाडौँमा नै उहाँको बाल्यकाल नै बित्यो । बुबा अञ्चलाधिश भएका कारणले पनि उहाँले शिक्षाको क्षेत्रमा राम्रो अवसर पाउनुभयो । राम्रो शिक्षा र पारिवरिक रुपमा समान अवसरका कारण आफूले सफता पाएको बताउने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले पाउनुभएको सफलता आफैमा आम महिलाका लागि प्रेरणाको अर्को नाम हो ।
बुबाको प्रेरणाका कारण आफू सफल भएको र आत्मनिर्भर बन्नुपर्छ भन्ने सिकेको उहाँ बताउनुहुन्छ । सानैदेखि नै समाजको नेतृत्व गर्नुपर्छ भन्ने सोच राखेको बताउनुहुने उहाँले भारतको राजधानी नयाँ दिल्लीमा गएर फेशन डिजाइनको कोर्स समेत लिनुभएको थियो ।
सानो असफलताबाट सिकेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्नुहुने राणा नेपाल उद्योग वाणिज्य महासंघको ५२ वर्षको उमेरमा पहिलो महिला अध्यक्ष हुनु आफैमा गौरव भएको बताउनुहुन्छ । व्यापारिक घराना भएपनि समाज सेवामा उहाँको उत्तिकै चासो र योगदान छ । ‘साथी’ भन्ने संस्थामार्फत महिलाको क्षेत्रमा काम गर्नुभएको छ ।
महिलाको विकास र सशक्तिकरणका लागि आर्थिक रुपमा सक्षम हुनुपर्छ भनेर आफूहरुले सामाजिक संस्थामार्फत काम गरेको बताउनुहुने राणा जिल्लाबाटै उद्योग वाणिज्य संघमा जोडिनुभयो । महिला उद्यमी संघबाट हाल महासंघ बनेको छ । त्यो महासंघको अध्यक्ष समेत हुनुभयो । महिलाको उद्यम र क्षमता विकासमा उहाँको योगदान अतुलनीय रहेको छ । महिलाले अगाडि बढाएका व्यवसायमा भएका अनेकन समस्यासँग जुधेर काम गरेको उहाँले स्मरण गर्नुहुन्छ ।

महिला उद्यमी महासंघबाट नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा पुग्नुभयो । मनोनित हुने मान्यतालाई त्यागेर प्रतिस्पर्धाबाट नेतृत्वमा आउनुपर्छ भन्ने राखेर उहाँले केन्द्रीय सदस्यमा विजयी हुन्ुभयो । केन्द्रीय सदस्यमा रहेर उहाँले महिला उद्यमीको पक्षमा काम गर्नुभयो । पछि महिला उपाध्यक्षमा विजयी हुनुभयो । वरिष्ठ उपाध्यक्षमा समेत उहाँले प्रतिस्पर्धा गरेर नै जित्नुभयो ।
महिलालाई अवसर दिलाउन पुरुषको पनि उत्तिकै हात हुन्छ भने जस्तै उहाँले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि सफलतापूर्वक सम्हाल्नुभयो । परिवारमा विशेष गरी सासुको विशेष सहयोगका कारण आफू सफल भएको र सिक्ने मौका पाएको बताउनुहुन्छ, राणा ।
महिला सशक्तिकरण भनेको नै आर्थिक सशक्तिकरण हो भन्ने मान्यता राख्नुहुने राणा महिलाले हिम्मतका साथ अगाडि बढ्न्पर्ने र हिम्मत गरे सफल हुन सक्ने धारणा राख्नुभयो । होटल व्यवसायलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको बताउनुहुने राणा , कृषि, बीमा तथा अन्य उद्यममा समेत हात हालेको जानकारी दिनुहुन्छ ।
घर चलाउनका लागि महिला पुरुष उत्तिकै हात रहन्छ । हरेक महिलाभित्र केही न केही सिप र योग्यता रहन्छ । त्यसलाई विशेष ध्यान दिन सकएि सफल हुन सकिन्छ । कृषि क्षेत्रमा पनि व्यवसायीक रुपमा काम गर्न सकिन्छ । अनलाइनबाट पनि कारोबार पनि अगाडि बढाउन सकिन्छ । हालका युवा युवती उत्तिकै सिर्जनात्मक भएकाले अझै धेरै काम गर्न सक्ने उहाँको भनाइ छ । महासंघ र अन्य सरकारी संघ संस्थाले पनि तालिमलगायतका अन्य प्रकारका सहयोग गर्छ । त्यसलाई सकारात्मक रुपमा अगाडि बढ्न सक्छन् ।

व्यवसायमा नभएको भए आफू राजनीतिमा रहन्थे होला भन्ने धारणा राख्ने राणा आगामी दिनमा सक्रिय राजनीतिमा आउन सक्ने बताउनुहुन्छ । राजनीतिक पार्टीको शीर्ष नेतृत्वमा महिलाको उपस्थिती असाध्यै कम भएकाले पनि आगामी दिनमा आफूले सक्रिय राजनीति गर्न सक्ने उहाँको धारणा छ ।
महिला सबल बन्नका लागि आर्थिक रुपमा पनि उत्तिकै सबल हुनुपर्ने उहाँको धारणा छ । महिलाले मनोनयमा अल्झिएर होइन, प्रतिस्पर्धा गरेर आफ्नो स्थानमा पुग्नुपर्ने महत्वपूर्ण विचार राख्नुहुने उहाँले सकारात्मक सोचका साथ अगाडि बढे जीवनमा कहिल्यै हार खानु नपर्ने बताउनुहुन्छ ।
होटल स्नेहा प्रालिको म्यानेजिङ डाइरेक्टर रहनु भएका राणा नेशनल लाइफ इन्स्योरेन्सको डाइरेक्टर र हिमालयन रि इन्सुरेन्स कम्पनीको संस्थापक लगानीकर्ता समेत हुनुहन्छ । महिलाले आफै अवसर खोजेर अगाडि बढ्ने हो, कोही कसैले पनि तपाईलाई दिन आउँदैन भन्ने मान्यता राख्नुहुने उहाँले सफलताका लागि मेहनत र लगनको आवश्यकता पर्ने बताउनुहुन्छ । ‘ महिला भनेर नबसौ, जुनसुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ । कसैको दयामा होइन, आफनै बलबुँतामा अगाडि बढौ, सफलता तपाईको दैलोमा आइपुग्छ’ उहाँलृृे भन्नुभयो ।


