Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काभ्रेपलाञ्चोक,
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताउनुभएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गर्नुभयो ।

“हामी विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रवादको पक्षमा अन्तिम लडाइँ लडिरहेका छौँ, यो लडाइँमा सहयात्री बनेकाले त्यो लडाइँमा साथ नदिएर व्यक्तिगत स्वार्थमा लागे, यसले राष्ट्रवादमाथि खतराको सङ्केत दिएको छ”, नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भन्नुभयो । सहयात्रीको व्यक्तिगत स्वार्थले ‘चुच्चे नक्शा’ भनेर खिल्ली उडाउनेलाई साथ दिइरहेको उहाँको दाबी थियो । “१४६ वर्षदेखि लुकाएर राखिएको नेपालको विस्तारित राज्यको नक्शा वर्तमान प्रधानमन्त्रीले सार्वजनिक गर्दा पाएको प्रशंसा सहन सकेनन् र अविश्वासको प्रस्ताव दर्ता गर्नसम्म भ्याए, यसलाई कसरी लिने तपाईँहरु आफैँ बुझ्नुस्”, बाँस्कोटाले भन्नुभयो ।

नेता बाँस्कोटाले फरक प्रसङ्गमा आजको ठीक तीन महिनापछि संसदीय निर्वाचन हुने बताउँदै निर्वाचनले सिन्दुर र माला लगाएर विजयी जुलुस मात्रै होइन, विदेशीसामु कहिल्यै नझुक्ने नेतृत्व दिलाउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “गत चुनावमा पनि हामी उपरखुट्टी लगाएर बस्न होइन, काम गर्न आएका थियौँ, काम गरिरहेका छौँ, अब पनि गर्नेछौँ ।” उहाँले वर्तमान सरकारले पुनर्जागरणको युग शुरु गरेको उल्लेख गर्दै निर्माण, गरिबीविरुद्ध र सुख, शान्तिको नवीनतम युगको थालनी गरेको बताउनुभयो ।

नेता बाँस्कोटाले आफूमाथि व्यक्तिगतरूपमा विरोधको भाषामा नाराबाजी गरेकामा आपत्ति जनाउँदै सबै दलका हरेक नेताको बैंक खाता हेर्नुपर्ने माग राख्नुभयो । “खाँदै नखाएको विषयमा विरोध आउँदा राजीनामा दिएँ, अब जिम्मेवार व्यक्तिले नेता र पूर्वमन्त्री भ्रष्टाचारका बोलेको विषयमा आरोप लागेकाले के गर्छौँ, त्यसो भए सबैको बैंक खाता हेरौँ”, उहाँले थप्नुभयो । उहाँले सबै नेता कार्यकर्तालाई चुनावी रणनीतिमा लाग्न आग्रह गर्नुभयो ।

सो अवसरमा बाँस्कोटाले विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका नवप्रवेशीलाई सदस्यता वितरणसहित स्वागत गर्नुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रामहरि सुवेदी, रेशम लामा, भीम न्यौपाने, नारायण पाण्डे, कुमार थापा, अम्बुभवानी कार्की तथा जिल्ला नेता सुरेश हुमागार्इँ, गीता बञ्जारालगायतले वर्तमान अवस्थामा निर्वाचनको तयारीमा लाग्नु पार्टी हितमा हुने विचार व्यक्त गर्नुभएको थियो । भेलाले २९९ सदस्यीय नेकपा पनौती नगर कमिटी गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय