Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं, वि.सं. २०२९ मा बर्दियाको गुलरियामा जन्मिएका मेघेन्द्रप्रकाश गिरीले ब्रान्डिङ तथा मार्केटिङको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

पूर्खौलि सल्यान जिल्लाबाट २०१६ मा हजुरबुवाको परिवार सहित बसाइसरी गुलरियामा आएको थियो । २०४७ सालमा गुलरियाबाटै एसएलसी पास र स्थानीय कलेजबाटै आइकममा कलेज टप गरेका गिरीले २०५२ सालमा बाँकेको नेपालगञ्गस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट बिकम पास गरेपछि बाँकी पढाई पूरा गर्न राजधानी काठमाडौं आएका थिए । उनले २०५६ सालमा शंकरदेव क्याम्पसबाट एमबिए पास गरे । गिरीले अन्तराष्ट्रिय अर्थशास्त्र विषयमा २०६९ सालमा एमए उत्तिर्ण गरे ।

औपचारिक शिक्षामा मात्र नभई उनले आफ्नो दक्षतालाई वास्तविक अर्थमा ब्रान्डिङ तथा मार्केटिङमार्फत एफएमसिजि, बहुराष्ट्रिय कम्पनी, मिडिया, बैंक र बीमाको क्षेत्रमा प्रभाव छोड्न सफल भए । पशुपति पेन्ट्स, कैलाश चिया, त्रिशक्ति सिमेन्ट, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स जस्ता थुप्रै कम्पनीहरुमा उनले आफ्नो जादुयी सिर्जना पस्किएर आफूलाई बजारमा अब्बल सावित गरेका थिए ।

२०४७ सालको आम चुनावताका तत्कालिन एक पार्टीको बर्दिया जिल्ला प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी पाएका थिए गिरीले । त्यस बखतमा चलनचल्तीमा रहेको टेप रेकर्डरमा रचनात्मक चुनावी प्रचार सामग्री रेकर्ड बनाएर जिल्ला भरी प्रचार प्रसारको काम गरे । जुन प्रयोग नेपाली राजनीतिमै विल्कुल नौलो तथा प्रभावकारी सावित भएको थियो । यसलाई नै गिरी आफ्नो ब्राण्डिङ यात्राको पहिलो खुड्किलो मान्छन् ।

सन् २००० मा बाल पत्रिका ‘योङ हेराल्ड’मा मार्केटिङबाट करियर सुरु गरेका गिरीले २००१ देखि २००४ सम्म नेपाल टोबाको (गोर्खा लहरी)मा कार्यरत रहेका थिए । त्यहीबेला मार्केटिङ कम्युनिकेशन अफिसर रहेका गिरीले ‘कैलाश चिया’को मार्केटिङ गरे । उनले कैलाश चियाका लागि ‘मुड फ्रेस तुरुन्तै’ स्लोगन बनाएर ब्रान्डिङ गरेका थिए, जसको निकै चर्चा पाइरह्यो । चाचान ग्रुपको त्रिशक्ति सिमेन्टका लागि ‘पुस्तौं पुस्ताका लागि’को सिर्जनाकार उनै गिरी हुन् ।

सन् २००४ देखि ५ महिना एसियन पेन्ट्सको क्षेत्रीय विक्री प्रमुखको भूमिकामा काम गरेका गिरी लगत्तै नेपालको उत्कृष्ठ मिडिया गु्रप अन्तर्गतको कान्तिपुर टेलिभिजनमा प्रवेष गरे । करिव १२ वर्ष कान्तिपुर टेलिभिजनमा काम गर्ने क्रममा उनले स्वदेश तथा विदेशमा आप्mनो ब्राण्डीङको कैशालता देखाउन तथा अनुभव बटुल्ने सुनौलो मौका प्राप्त गरेका थिए । सो समयमै कर्पोरेट क्षेत्र तथा मिडिया क्षेत्रसँग बलियो पब्लिक रिलेसन बनाएकाले गिरी आज पनि नेपाली कर्पोरेट क्षेत्रमा बलियो पब्लिक रिलेसन भएका व्यक्तिमा गनिन्छन् । कान्तिपुर टेलिभिजनमा कार्यरत रहँदा वित्तीय क्षेत्रको आकर्षणले गर्दा उनले अन्तराष्ट्रिय अर्थशास्त्र विषयमा एमएको डिग्री हासिल गरे ।

त्यसपछि सुरु भयो उनको वित्तीय क्षेत्रको यात्रा । गिरीले एनआईसी एसिया बैंकमा डेढ वर्ष कर्पोरेट कम्युनिकेशन, ब्रान्डिङ एन्ड सीएसआर डेपुटी हेडको रुपमा काम गरे । बैंकिङ क्षेत्रमै ब्रान्डिङको अवधारणाको विकासमा गिरीले विशेष योगदान दिएका छन् । एनआईसी एसिया बैंकलाई ब्रान्डिङका हिसाबले एक नम्बरमा ल्याउनमा गिरीको सृजनात्मक कार्यलाई सम्झने गरिन्छ । ‘एनआईसी एसिया बैंकका लागि ‘हाम्रो समुन्नति राष्ट्रकै उन्नति, आजैदेखि बचत गरौं है साथी’ जस्ता ट्यागलाइन पनि उनका सिर्जना हुन् । उनले एनआईशी एशियाको बैंकको ब्रान्डिङमा गरेका सृजनात्मक कार्यले बैंकिङ क्षेत्रको ब्रान्डिङ कन्सेप्टमै परिवर्तन ल्यायो । एनआईसी एसियाको ब्रान्डिङमा गरेका क्रियाकलापले नेपाली बैंकिङ क्षेत्रले ब्रान्डिङको आवश्यकता र महत्व महसुस गरी छुट्टै विभाग स्थापना गरेको गिरी बताउछन् । गिरी मिडियाबाट बैंकिङ क्षेत्रको ब्रान्डिङमा छलाङ मार्ने पहिलो व्यक्ति भएको दावि गर्दछन् ।

२०१८ देखि उनी बीमा क्षेत्रमा प्रवेश गरे । नेपाल लाइफमा कर्पोरेट कम्युनिकेशन एन्ड ब्रान्डिङ हेडका रुपमा प्रवेश गरेका उनको ब्रान्डिङ तथा मार्केटिङका कारण नेपाल विज्ञापन संघबाट सन् २०१९ मा बेस्ट एडभरटाइजिङ क्याम्पेनबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पुरस्कृत भएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सको प्रोफाइल डकुमेन्ट्री ‘नेपाल लाइफमा बीमित हुने सारा नेपालीको रहर, थुप्रै योजना उच्च बोनश दर’, ‘रोग लाग्नै नदिने प्रयत्न तपाईँको, केही भए उपचारमा साथ दिने बाचा हाम्रो’ जस्ता स्लोगनहरु सिर्जना गरिसकेका छन् ।

पछिल्लो समय नेपाल लाइफ इन्स्योरेन्समा रहेका उनले नेपाल लाइफ इन्स्योरेन्स र यसका नयाँनयाँ योजनालाई जनतासमक्ष सहज रुपमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । गत तिहारमा कोरोना महामारीका कारण देउसी भैलो नखेल्न र घरमै बसेर रमाइलो गरी तिहार मनाउनु भन्ने सरकारको आग्रहलाई मध्यनजर गर्दै घरमै बसेर देउसी गीत सुन्दै रमाइलो गर्ने र नेपाल लाइफको शुभकामना पनि आम नागरिकमा प्रवाह हुने ठानेर उनले तिहार गीत निर्माण गरे । गिरीले गीतको शब्द रचना गरे, ‘झिलिमिली बत्ती बाली रंगाइदिऊँ है सारा नेपाल’ । गीतमार्फत जीवन बीमाप्रति मानिसको अभिरुचि जगाउने, नेपाल लाइफको ब्रान्ड प्रोमोशन गर्ने र तिहारको शुभकामना दिने सबै उद्देश्य थियो ।

फलस्वस्प ४ दिनमै उक्त तिहार गीतले १० लाख भ्युज पाएको थियो । त्यसैगरी कोरोना महामारीका बीचमा नेपाल लाइफका तर्फबाट सचेतनामुलक भिडियो समेत गिरीकै परिकल्पना तथा निर्देशनमा तयार भएको थियो । जुन भिडियोले नेपाली बजारबाट राम्रो प्रतिक्रिया समेत बटुलेको थियो । नेपाल लाइफमा तत्कालिन नेतृत्वबाट प्राप्त विश्वास, भरोसालाई कायम गर्दै स्वतन्त्रता पूर्वक काम गर्न पाउँदा यस किसिमका ब्रान्डिङमा सृजनात्मक कार्य गर्न सहज र सफल भएको गिरी स्वीकाछन् ।

अन द स्पट, समयानुकुल, ग्राहक तथा बजारको माग अनुसारको कन्सेप्ट बनाउन सक्ने गिरीले स्वतन्त्र भई काम गर्न पाउँदा उत्कृष्ठता प्रदान गर्न सकिने बताउछन् । नेपाल लाइफमा देशभरी फैलिएका अभिकर्ताहरुसँग सहकार्य गर्न पाउँदा सम्बन्ध विस्तार तथा सृजनात्मकतामा विविधिकरण ल्याउन सहयोग पुगेको गिरीले बताए ।

यस्ता थुप्रै ब्रान्डिङका क्षेत्रमा काम गरेका उनी गीतकार, गायक, संगीतकार, अभिनेता, मोडल, लेक्चरर, विज्ञापन निर्माता, निर्देशक समेत हुन् । उनले २०५२ सालमा नेपालगन्जमा बीबीसी नेपाली सेवाले आप्mनो नेपाली प्रशारण सुरु गर्न आयोजना गरेको कार्यक्रममा ‘बिझाइ नदेऊ यो मुटुमा फूल टिप्दा काँडा बनेर’ बोलको आधुनिक गीत गाएका थिए ।

उक्त कार्यक्रमको मुख्य आकर्षण मह जोडी थियो र मह जोडीसँगैको स्टेजमा आप्mनो प्रस्तुती दिन पाएका थिए । सो कार्यक्रम बीबीसी टेलिभिजनले प्रशारण गरेको थियो । अन्य दुईवटा गीत आफ्नै लेखन र स्वरमा बजारमा आएको उनी बताउँछन् । भजन तथा तीजका गीतमा समेत उनका सृजना पाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय