काठमाडौं , सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । यसअघि नेकपा विवादपछि प्रचण्ड-माधव पक्षले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो ।
मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा उपस्थित सञ्चारकर्मीलाई जानकारी दिए ।
थापाका अनुसार प्रधानमन्त्रीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले जानकारी गराएका थिए । आयोगको तयारीबारे जानकारी पाएपछि प्रधानमन्त्रीले धन्यवाद दिँदै निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह गरेको थापाको भनाइ छ ।


