Saturday 29 August 2026 / शनिबार, १३ भाद्र २०८३

काठमाडौँ। सर्वोच्च अदालतले नेकपा दलको नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधवकुमार नेपालहरू एमालेतिर लागेका छन् भने पुष्पकमल दाहालले माओवादी केन्द्र बनाउने भएका छन्।

सोमबार पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बैठक बसेर साविक नेकपाका दाहाल-नेपाल समूहले पूर्ववत् पार्टीतिर लाग्ने निर्णय लिएका थिए। एमाले र माओवादी ब्युँतिएपछि नेताहरू पूर्ववत् अवस्थामा फर्किए पनि माओवादीका सांसदसमेत रहेका ओली नेतृत्वको सरकारका मन्त्रीहरूले भने निर्णय लिन सकेका छैनन्। सांसद नरहेका मन्त्रीले भने आफू कता लाग्ने भन्ने तय गरेका छन्।

माओवादी नेतासमेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब कता लाग्ने भन्नेबारे छलफल गरिरहेको बताएका छन्। केही दिनभित्र आफूले निर्णय दिने उनले बताएका छन्।

‘अहिले नै कता लाग्ने भन्ने केही पनि छैन। सल्लाह गर्दैछौं। के गर्ने भन्ने निर्णय गर्न २- ४ दिन लाग्ला,’ मन्त्री भट्टले भने। नेताहरूसँग छलफल भइरहेको तर निष्कर्ष निस्किनसकेको उनले जानकारी दिए।

सर्वोच्चको फैसलाले अन्यौलता सिर्जना गरेको मन्त्री भट्टको भनाइ थियो। ‘फैसलाले अन्योलता त सिर्जना भयो। भोलि फेरि सरसल्लाह गर्दैछौं, एउटा निकास पनि देला,’ एमाले र माओवादीबीच सत्ता गठबन्धन कायमै रहनेबारे उनले थपे, ‘हुन सक्छ, अहिले नै केही भन्न सक्ने अवस्था छैन।’

मन्त्री भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। त्यस्तै, माओवादीबाट कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित गौरीशंकर चौधरी, रौतहट ३ बाट निर्वाचित प्रभु शाह र अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी ओली सरकारमा मन्त्री रहेका छन्। प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि तत्कालीन नेकपाभित्र उत्पन्न भएको विभाजनपछि सांसदहरू ओली पक्षमा लागेर शाह, रायमाझी र चौधरी मन्त्री भएका थिए भने भट्ट पहिल्यै मन्त्री थिए।

माओवादीबाट राष्ट्रिय सभामा निर्वाचित गृहमन्त्री रामबहादुर थापाले पनि कुन पक्षमा लाग्ने तय नगरिसकेको बताइएको छ। प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि उनका सहयोगी तथा सचिवालयमा रहेका नेताहरू दाहाल-नेपाल पक्षतिर लागेका थिए। थापाले अब के गर्ने भन्ने बारेमा सल्लाह गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ।

सांसदहरूले पार्टीको ह्वीप मान्नुपर्ने हुन्छ। ह्वीप नमानेमा उनीहरूको सांसद पद जाने कानुनी व्यवस्था रहेको छ। त्यसैले पनि सांसद रहेका मन्त्रीहरू आफ्नो पार्टीमा फर्किने सम्भावना रहेको छ। उनीहरू आफ्नो पार्टीमा फर्किएनन् भने सांसद पदबाट हटाउने सम्भावना रहन्छ।

ओली नेतृत्वको सरकारमा माओवादी नेताहरू मणिचन्द्र थापा र दावा लामाले के गर्लान् भन्ने चासो रहेको छ। उनीहरू माओवादीतिर फर्किएलान् कि एमालेमै रहलान् भन्ने कुरा उठिरहेका बेला थापाले भने ओलीलाई नै साथ दिने बताएका छन्।

थापा र लामा सांसद होइनन्। कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय