डा. कमल शर्मा लम्साल, फिजिसियन एवम् मुटुरोग विज्ञ
फलेवास नगरपालिका, खानीगाउँ–पर्वतमा वि.सं. २०३२ साउन २४ गते पिता दुर्गादत्त लम्साल र माता पवित्रा लम्सालका पुत्ररत्नका रूपमा जन्मनुभएका डा. कमल शर्मा लम्साल पेसाले फिजिसियन एवम् मुटुरोग विज्ञ हुनुहुन्छ ।
श्री भवानी विद्यापिठ पर्वतबाट एस.एल.सी. बोर्ड छैटौँका रूपमा शैक्षिक उत्कृतता प्रदर्शन गर्दै अघि बढ्नुभएका लम्सालले संयोग नै भन्नुपर्छ श्री वीरेन्द्र सैनिक महाविद्यालय, भक्तपुरबाट आई.एस्सी. परीक्षा पनि बोर्ड छैटौँ नै भएर पूरा गर्नुभयो । डा. लम्सालले चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जबाट प्रथम श्रेणीमा एम.बी.बी.एस., सोही संस्थानबाट एम.डी. इन्टर्नल मेडिसिन तथा भारतको चण्डिगढबाट कार्डियोलोजी तालिम–पी.जी.आई. को समेत अध्ययन पूरा गर्नुभयो । देशकै शैक्षिक संस्थालाई माया गर्नुहुने लम्सालले कार्डियोलोजी फेलोसिप छिमेकी राष्ट्र चिनको लियोनिन मेडिकल युनिभर्सिटीबाट पूरा गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वि.सं. २०५८ देखि मेडिकल अधिकृतका रूपमा प्रवेश गर्दै अघि बढ्नुभएका डा. लम्सालको कार्यानुभव त्रि.वि. शिक्षण अस्पतालको उपप्राध्यापक (२०६३–६७), सिभिल अस्पतालको मुटुरोग विशेषज्ञ (२०६८–२०७९), सहप्राध्यापक, चिकित्सा शिक्षा राष्ट्रिय प्रतिष्ठान (२०७२–२०७९) हुँदै हाल ओम अस्पताल चाबहिल, एभरेस्ट अस्पताल बानेश्वर तथा नेपाल ल्याब हाउसलगायत संस्थाहरूमा आबद्ध हँदै अगाडि बढेको छ ।
बिरामी एवम् सेवाग्राहीहरू डा. लम्साललाई सहृदयी, आफ्नो कर्तव्यप्रति सदैव चिन्तनशील एवम् पेसाप्रति निष्ठावान् चिकित्सकका रूपमा लिन्छन् । खोज–अनुसन्धान र चिकित्सकीय कर्मलाई सँगसँगै लैजानुहुने डा. लम्सालकृत रक्तचाप–समस्या तथा समाधान नामक खोजमूलक पुस्तक एवम् शब्दार्थ प्रकाशनसँगको सहकार्यमा प्रकाशित चिकित्सा शब्द सागर अङ्ग्रेजी–नेपाली मेडिकल शब्दकोश सो क्षेत्रको मानक पुस्तकका रूपमा स्थापित छन् । यी अनुसन्धान एवम् सङ्कलन मेडिकल क्षेत्रका अध्येता एवम् जिज्ञासुका लागि धेरै उपयोगी बनेका छन् । डा. लम्सालका यी दुई कृतिका अतिरिक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल एवम् पत्रपत्रिकामा दर्जनौँ अनुसन्धानमूलक लेखरचना प्रकाशित छन्; जुन क्रम निरन्तर अघि बढिरहेका छन् । मुटुरोग तथा रक्तचापको जनचेतना अभिवृद्धिको क्षेत्रमा उहाँको अग्रणी भूमिका रहेको छ ।

पर्वतेली युवाका शिक्षा र जीवन करियरका प्रेरक व्यक्तित्व बन्न सफल डा. लम्सालले लामो समयसम्म सिभिल अस्पतालमा एक मात्र मुटुरोग विशेषज्ञका रूपमा आपूmलाई क्रियाशील गराइरहनुभयो । जहाँ उहाँले आई.सी.यू. एवम् मेडिसिन विभागमा उल्लेखनीय योगदान दिइसक्नुभएको छ । आज पनि पर्वतेली शिक्षाविद्का बिचमा डा. लम्सालको एस.एल.सी. बोर्डको चर्चापरिचर्चा भइरहन्छ र डा. लम्साल सरकारी विद्यालयका विद्यार्थीका प्रेरणा स्रोत बनेर गुन्जिरहनुहुन्छ ।
पर्वत हुँदै सिङ्गो नेपाली माटोकै ‘कमल’ बनेर फुलिरहनुभएका कर्मनिष्ठ चिकित्सक डा. लम्साललाई उपर्युक्त कर्मको उच्च मूल्याङ्कन गर्दै दर्जनौँ सम्मान एवम् पदवीले विभूषित गरिएको छ । लम्सालले वीरेन्द्र सैनिक महाविद्यालयबाट स्वर्ण पदक, क्यासनेप (CASH NEP) फान्डेसन नेपालद्वारा उत्कृष्ट चिकित्सक, २०७८, स्वास्थ्य दर्पण हेल्थ अवार्ड २०७९, सुप्रबल जनसेवाश्री सम्मान, २०७९ लगायत राष्ट्रिय पदक, अवार्ड एवम् सम्मान प्राप्त गरिसक्नुभएको छ ।
अध्ययन, अनुसन्धानसँगै चिकित्सा क्षेत्रमा नयाँ–नयाँ कर्म गरेर आफ्नो प्रतिभालाई उजिल्याउँदै निरन्तर अघि बढ्नुहुने डा. लम्साल कर्म साधना नै मानव जीवनको जीवन्त शस्त्र र शास्त्र भएको ठान्नुहुन्छ । चिकित्सा क्षेत्र संवेदनशील क्षेत्र र चिकित्सक त्यस क्षेत्रका सारथि भएकाले आफ्नो कर्तव्यबाट कत्ति पनि विचलित नभई जनता र राष्ट्रको सेवामा रमाउनु पाउनु नै एक असल चिकित्सकको धर्म र कर्म ठान्ने डा. लम्साल हजारौँ बिरामीको जीवनको सञ्जीवनी बनिरहनुभएको छ ।
०००


