Monday 25 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडौं,श्रमजीवी पत्रकारहरुका पक्षमा निरन्तर आवाज पैरवी गर्ने एक्लो अभियन्ताको उतार चढावको पत्रकारहरुमाथि जहाँ शोषण, अन्याय त्यहाँ उनी । श्रमजीवीहरुकै ‘हितार्थ’ निर्वाचित नेपाल पत्रकार महासंघको नेतृत्व जहाँ श्रम शोषक मालिकहरुसँग निहुरमुन्टी न हुन्छ, उनीहरुको दबाब र प्रभावमा परेर औपचारिकता मात्र निर्वाह गर्छ, त्यहाँ उनी ।

उनले आफूलाई श्रमजीवीहरुको पक्षधरतामा स्पातिलो ‘ब्राण्ड’ बनाइसकेका छन् । उनी अर्थात जन्मदेव जैसी । जैसी श्रम शोषक ‘मिडिया’ मालिक, कर्पोरेट हाउस, शासकका आँखाका पिलो हुन् भने शोषण, दमन, उत्पीडनमा परेका पात्रहरुका भरोसाको सतिसाल । त्यसैले न भनिन्छ, पक्षधरता पनि आ–आफ्नो हुन्छ । त्यही पक्षधरताकै कारण शोषकको प्रिय शोषितको विरोधी कित्तामा उभिन्छ ।

शोषितको सारथी शोषकको शत्रु बनिरहेको हुन्छ । जैसी मालिक (शोषक) को आँखाको तारो बनेका छन् । सिक्काको विपरीत पाटो–उत्पीडित (शोषितं) हरुको उत्प्रेरक बनिरहेका छन् । भूगोलले सुदूर दुर्गम कालीकोटमा जन्मेरहुर्केका जैसी चेतनाले भने श्रम शोषणको जगमा ‘आधुनिक, सम्पन्न’ दैनिकी बिताइरहेका ‘कर्पोरेट मालिक’ र तिनीहरुका गुलामहरु भन्दा उन्नत दरिएका छन् ।

स्वीकार्य होस् वा नहोस्, जैसीले नेपाली पत्रकारिताभित्र आधुनिक, सभ्य र भव्यको मानक के लाई मान्ने ? ठगीलाई वा ठगी विरुद्धको आवाजलाई ? जबरजस्त प्रश्न उठाइदिएका छन् । श्रमको शोषण, श्रमिकको पसिना, श्रमजीवीको मेहनतको मूल्य ठगी गरेर रवाफको जीवन बिताइरहेका मालिकहरुको चेतनालाई आधुनिक, सभ्य, भव्य मान्ने कि झरी होस् वा बादल, कठाङ्ग्रिदो जाडो होस् वा भत्भत् पोल्ने गर्मी– भालेको डाँकसँगै पाठकका ढोका–ढोकामा पत्रिका पुर्याउने ‘साइकल ब्वाई’, जीवन नै दाउमा राखेर सूचना उधिन्ने, मध्यरातसम्म समाचारको गोडमेल गरेर पत्रिका स्तरीय बनाउने श्रमजीवी पत्रकारका पक्षमा कोइली बनिरहेको चेतना आधुनिक, सभ्य, भव्य ?

यसको व्याख्या पनि पक्षधरताकै आधारमा हुने सार्वभौम सत्य हो । श्रमजीवीहरुको मेहनतको मुनाफाबाट आर्जित सम्पत्तिमा मोज गर्दै शरीरमा अत्तर मात्र ४० हजारदेखि लाख रुपैयाँभन्दा महंगा छर्कने, पाँचदेखि १० करोडको गाडीमा सवार, सत्ता, साम, दाम, दण्ड, भेदका सबै औजार चलाइरहेका ‘साहु’ हरुको दबदबा छ, नेपाली पत्रकारिताको शिखरमा यसबेला । तिनीहरुले पत्रकारितालाई भजाएर ‘सेटिङ’ का बिचौलिया धन्दामा एकछत्र राज चलाईरहेका छन् ।

सेटिङकै कारण बैंकिङ घरानाहरुले अर्बौ कर ठगी गरेको समाचार देख्दैनन्, लेख्दैनन् । यो त एउटा प्रतिनिधि घटना मात्र हो । अपवादलाई छाडेर धेरै जसो समाचार तथ्यका आधारमाभन्दा नाफाघाटा नापतौल गरेर मात्र लेख्छन्, लेखाउँछन् । किनभने तथ्य समाचार लेख्यो भने तिनीहरुको वैधरअवैध आयमा धक्का लाग्छ ।

अनुमान गर्न सकिन्छ, कर्पोरेट हाउस चलाइरहेका धेरै ‘मालिक’ हरुले यत्तिको सम्पत्ति कमाइएला भनेर सायद सपनामा पनि कल्पना गरेका थिएनन् । सपनामा पनि सोच्न नसकेको सम्पत्ति उनीहरुले पत्रकारिताकै माध्यमबाट श्रमजीवीकै पाखुरी र दिमागको उपज कमाएका हुन् । राज्यले बनाएको जुन ऐनमा टेकेर उनीहरु केही दशकमै अर्बपत्ति, करोडपत्ति बनेका छन्, बन्ने बाटोमा छन्, त्यही राज्यले बनाएको श्रम ऐन, श्रमजीवी पत्रकार ऐन, नियमावली, राजपत्रलाई भने उनीहरुले ठाडै धज्जी उढाएका छन् । फलतः श्रमजीवीहरुलाई बँधुवा स्तरको व्यवहार गरिरहेका छन् ।

जुन कानून अनुसार दण्डनीय अपराध हो । दुर्भाग्य १ सरकार, नियामक निकाय, कानून उल्लंघनकर्ताहरुसँगै आत्मसर्मपण गरिरहेका छन् । उनीहरुहरुकै चुलोको खिचडीमा रमाईरहेका छन् । यदि राज्य विधिको शासनमा चल्नेरचलाउने हो भने योभन्दा ठूलो उपहास, विडम्बना के हुन सक्छ ? तसर्थ सरकार र कानूनलाई नै कुँज्याएर श्रम शोषणमा उन्मत्त अ९सभ्य० ‘सम्भ्रान्त’ हरुको अखडामा धावा बोल्न पक्कै सहज छैन ।
जुन थालमा खाएर आफू अजिर्ण भयो, त्यही थालमा थुक्ने बैगुनी अर्थात श्रमजीवीकै पसिनाबाट अर्बपत्ति बनेर कानूनले प्रष्ट तोकेको सुविधा उनीहरुलाई नै नदिने कृतघ्नसँग लड्न निकै ठूलो चुनौती छ । तर, झट्ट हेर्दा मरन्च्याँसे, झुसे, सफाचट भएर हिडेको कहिल्यै नदेखिने, दूरदराजको सामान्य परिवारको एउटा ‘फुकीढल फुच्चे केटो’ ले राजधानी काठमाडौंका वैध–अवैध धन्दाका ‘सम्राट्’ हरुको निद्रा खल्बल्याईदिएको छ ।

त्यो केटो हो, जन्मदेव जैसी । कसरी संभव भयो त सम्भ्रान्तहरुको निद्रा खल्बल्याउन ? “संसारकै इतिहास अध्ययन गर्दा कानून उल्लंघनकर्ता श्रम शोषकहरु देख्दा मात्र भव्य र शक्तिशाली देखिन्छन् । कानूनी र नैतिकरुपमा उनीहरु एकदमै कमजोर हुन्छन्”, जैसी भन्छन्, “यथार्थमा मजदुर र श्रमजीवीहरुसँग सबैभन्दा शक्तिशाली हतियार हुन्छ । किनभने उनीहरु कानूनी र नैतिक दुवै पक्षमा बलिया एवं इमान्दार हुन्छन् ।

हामीले प्रचलित कानून अनुसार सेवा सुविधा देउ भन्नु बाहेक मालिकहरुले कमाएको सबै सम्पत्ति बाँड, कम्पनीको सेयर देउ भनेका छैनौं । कानून सम्मत माग राखेकाले साहुहरु गल्न वाध्य भएका हुन् । उनीहरु श्रमजीवीहरुको दयामायाले झुकेका होइनन् ।”
उनी नेतृ्तवको श्रमजीवी पत्रकार संघमा देशैभरीबाट १४ सयभन्दा बढी श्रमजीवीहरु जोडिएका बताउँछन्, उनी । “श्रमजीवी पत्रकारहरुले पाउनु पर्ने पारिश्रमिक, सेवा, सुविधाका लागि नयाँ पत्रिका दैनिक बाहेक सबै ठूला, साना सञ्चार गृहमा हामीले आन्दोलन गर्नु परिरहेको छ । जुन निकै विडम्बनापूर्ण कुरा हो”, जैसीको कथन छ, “साहुहरु पारिश्रमिक, सेवा, सुविधा दिन नसक्ने गरी टाँठ पल्टिएर रित्तो हात श्रमजीवी कटौटी गर्न वाध्य भएका हुँदै होइनन् । मुनाफा एक्लै कुम्ल्याउने कुत्सित मनसायले योजनावद्ध रुपमा श्रमजीवीको अधिकार एवं गाँस शोषण गरेका हुन् । तर, यस्तो दुर्दान्त अवस्थामा पनि सरकार, पत्रकार महासंघ रमिते बनिरहेका छन् वा औपचारिकता मात्र निर्वाह गरिरहेका छन् ।”

श्रमजीवीहरुका पक्षमा आवाज मुखरित गर्दा सत्ताधारी र साहुहरुले समय–समयमा धम्क्याउने गरेका जैसी बताउँछन् । त्यस्तो धम्कीबाट आफूलाई केही फरक नपर्ने उनको भनाइ छ । “मेरो व्यक्तिगत स्वार्थले मैले कुनै पनि श्रमजीवी र उनीहरुको आन्दोलनलाई साथ दिएको एवं मालिकको बिरोध गरेको होइन । श्रमजीवीहरुलाई कानूनले तोकेको अधिकार देउ भनेको मात्र हो”, जैसी भन्छन्, “मजदुर, श्रमजीवीहरुले मालिकलाई दबाब नदिइ कहीँ पनि आफ्नो अधिकारको निर्वाध उपभोग गर्न पाएका छैनन् । हामी पनि अधिकारको उपभोगका लागि आन्दोलन गर्न वाध्य भइरहेका हौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय