भोलेन्टियर क्रप्स नेपाल (भिसिएन) गैरनाफामूलक र मानवीय सेवामा सक्रिय संस्था हो । उक्त संस्थाले आपत्कालीन अवस्थाजस्तै भूकम्प, प्राकृतिक प्रकोप, महामारीजस्ता अप्ठ्यारामा प्रभावित व्यक्तिलाई सहयोग गर्दै आएको छ । उक्त संस्था सन् २००६ मा स्थापना भएको हो । भिसिएनले समाज कल्याण परिषद्बाट आबद्धता लिएर नेपालको सात वटै प्रदेशमा एकीकृत ढंगबाट काम गरिरहेको छ । यही समाजसेवी संस्था भिसिएनको संस्थापक उपाध्यक्षका रुपमा कार्यरत छिन् भक्तपुर नगरपालिका–५, योसिंखेलकी राधा मताङ्गी । सन् २००९ मा विजनेश स्टडिजमा स्नातकोत्तर गरेकी उनी अहिले विविध क्षेत्रमा संलग्न छिन् ।
उनी सन् २०१८ मार्चदेखि भिसिएनको संस्थापक र उपाध्यक्षका रुपमा निरन्तर काम गरिरहेकी छिन् । उक्त संस्थामा रहेर उनले विभिन्न परियोजना, ती परियोजनाका गतिविधिको प्रभावकारी कार्यान्वयन, त्यसले देश तथा नागरिकमा पार्ने प्रभावका विषयमा काम गर्दै आएकी छिन् । उनले नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत रहेर प्राकृतिक प्रकोपसम्बन्धी मु्द्दामा आफूलाई क्रियाशील समेत गराइरहेकी छिन् । त्यस्तै स्थानीय सरकार, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनी सहकार्यका लागि प्रयत्नशील छिन् । महिला तथा युवालाई कृषि व्यवसायमा लगाएर आर्थिक रुपमा सबल बनाउन सकिने उनको मत छ ।

समाजसेवामा मात्र सीमित नभई उनी कृषि क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । सन् २०११ मा ‘इभरग्रीन फ्लोरा एण्ड एग्रीकल्चर फार्म’ सञ्चालनमा ल्याएर उनले आफूलाई कृषि उद्यमीका रुपमा परिचित गराएकी छिन् । उनको कृषि फार्मबाट व्यावसायिकरुपमा स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका पुष्प (फूल) जस्तै जेलबेरा, क्यालेण्डुला, गुलाब तथा काउली र गोलभेँडालगायत तरकारी उत्पादन हुँदै आएको छ । गुणस्तरीय उत्पादनका लागि उनले ७० हजार स्क्वायर मिटर ग्रीनहाउस विस्तार गरेकी छिन् । उक्त कृषि फार्मलाई उनले रिसोर्स सेन्टरका रुपमा विकास गरेर लैजाने सोच बनाएकी छिन् ।
आफ्नै व्यवसायको दौरान उनले सन् २००६ देखि २०१७ सम्म सामुदायिक विकास केन्द्रको कार्यकारी निर्देशकका रुपमा पनि भूमिका निर्वाह गरिन् । एडिविको सहयोगमा नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहयोगमा उक्त कार्यक्रमअन्तर्गत नेपालको ग्रामीण भेगका विभिन्न २३ जिल्लामा कृषिमा आधारित परियोजना कार्यान्वयन भइरहेको छ । यसैगरी उच्च मूल्यका कृषि उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्ने उद्देश्यले कृषि मन्त्रालयको सहयोगमा एक हजार कृषकको क्षमता अभिवृद्धि गरिएको थियो ।
विविध क्षेत्रमा सक्रिय मताङ्गीले सन् २०१८ मा फिलिपिन्सको मनिलामा आयोजित ‘सातौँ आसियान कोअपरेटिभ विजनेश फोरम’, सन् २०१५ मा भारतको गुरगान हरियाणा ‘म्यानेजेरियल क्यापासिटी अफ कोअपरेटिभ म्यानेजर’ र सामुदायिक विकास केन्द्रको सहकार्यमा च्याउ उत्पादनसम्बन्धी तालीम लिएकी छिन् ।
–––


