काठमाडौं,पर्सा जिल्ला चोरनी गाउँपालिका–९ मा २०३२ सालमा मध्यमवर्गीय परिवारमा जन्मनुभएका जाकिर हुसेनले काठमाडौँ प्रवेशसँगै सिलाइ व्यवसायमा नोकरी गर्नुभएको थियो । अथक परिश्रम, मेहनत र धैर्यका साथ आफ्नो कामलाई सर्वोपरी महत्व दिनुभएका हुसेनले आफैँ सिलाई व्यवसाय सञ्चालन गरी अहिले सोही पेसामार्फत व्यावसायिक सफलता हासिल गर्नुभएको छ ।
अन्तरजातिय विवाह गर्नुभएका उहाँले आफ्नो सफलताको श्रेय आफ्नी जीवन सँगीनी तथा परिवारलाई दिन चाहनुहुन्छ । हाल काडमाडौँ सामाखुसीमा स्थायीरूपमा बस्दै आउनुभएका हुसेनले याट्खामा २०५१ सालदेखि न्यू मुनलाइट सटिङसुटिङको आफ्नै पेसा व्यवसायलाई निरन्तरता दिँदै आउनुभएको छ ।

व्यावसायिक सफलतापश्चात उहाँ हाल आफ्नो पुख्र्यौली गाउँमा सामाजिक सेवामा पनि लाग्नुभएको छ । उहाँले पर्सा जिल्लामा रहेका विभिन्न सङ्घसंस्था लगायत असहाय, गरिब तथा दुःखीहरुलाई आर्थिक तथा विभिन्न सामग्री सहयोग गर्दै आउनुभएको छ । उहाँले कोरोनाको महामारीमा पनि दिनरात ज्यानको पर्वाह नगरी फोटो तथा समाचार सङ्कलनमा खटिने फोटोपत्रकारहरुलाई सयौँ प्रेस ज्याकेट निःशुल्क सहयोग प्रदान गर्नुभएको थियो । साथै उहाँले कोभिडको समयमा बन्दाबन्दीमा परी रोजगारी गुमाउने विभिन्न पेसाका व्यक्तिहरूलाई आर्थिक सहयोग गर्नुभएको थियो ।
सहयोगी मनका धनी उहाँ हाल नेपाल मुस्लिम सङ्घ जिल्ला पर्साको सभापति तथा नेपाली कांग्रेसको जिल्ला सदस्यका रूपमा पनि सक्रिय भूमिकामा रहनुभएको छ ।


