काठमाडौं, सरकारले बैंक तथा वित्तीय संस्थामध्ये राज्यलाई सबैभन्दा बढी आयकर बुझाएको भन्दै नबिल बैंकलाई सम्मान गरेको छ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरेका हुन्।
आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय क्षेत्रतर्फ सबैभन्दा बढी कर दाखिला गरेको कदरस्वरूप बैंकलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरिएको हो। प्रचलित आयकर ऐनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो करयोग्य आयमा ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ।
नबिल बैंकसँगै चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्स प्रालिले पनि वस्तु व्यापारतर्फ उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको छ।
आफ्नो समूहका दुई संस्थाले सम्मान प्राप्त गरेपछि चौधरीले नेपालको कुल कर राजस्वमा चौधरी ग्रुप र नबिल परिवारको संयुक्त योगदान २.५ प्रतिशतभन्दा बढी रहेको जानकारी दिए। उनले यस उपलब्धिका लागि कर्मचारीहरूको मेहनत र सेवाग्राहीको विश्वासप्रति आभार व्यक्त गरे।


