Tuesday 17 November 2026 / मंगलवार, २ मंसिर २०८३

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी डिसेम्बर ११ र १२ (मंसिर २६ र २७) मा कतारको राजधानी दोहामा आयोजना हुने सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, सुरक्षित श्रम आप्रवासन, सामाजिक सुरक्षा तथा प्रवासी नेपालीको लगानीलाई प्राथमिकताका साथ उठाइने भएको छ ।

मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा सम्मेलनको तयारी तीव्र पारिएको हो । सम्मेलनलाई औपचारिक कार्यक्रममै सीमित नराखी श्रमिकका वास्तविक समस्या समाधान र विदेशमा आर्जित सीप, अनुभव तथा पुँजीलाई नेपालको आर्थिक समृद्धिसँग जोड्ने नीतिगत बहसको साझा मञ्च बनाउने लक्ष्य राखिएको श्रेष्ठले बताएका छन् ।

सम्मेलनमा सहभागिताका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल तथा सांसद एवं नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापालगायतलाई निमन्त्रणा गरिएको छ । श्रेष्ठले मन्त्री यादव र सांसद थापालाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् । यसअघि एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सभामुख अर्याललाई निमन्त्रणा गरेको थियो ।

मन्त्री यादवसँगको भेटमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या, श्रम अधिकार, सुरक्षा तथा हकहित संरक्षणका विषयमा छलफल भएको श्रेष्ठले बताएका छन् । त्यस्तै, सांसद थापासँगको भेटमा सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्या तथा गैरआवासीय नेपालीका सरोकारलाई नीतिगत रूपमा सम्बोधन गर्ने विषय उठाइएको थियो ।

सम्मेलनको अर्को महत्त्वपूर्ण एजेन्डाका रूपमा सामाजिक सुरक्षा कोषलाई अघि सारिएको छ । यसका लागि श्रेष्ठले कोषका निर्देशक रोहित रेग्मी तथा उनको टोलीसँग भेट गरी विदेशमा कार्यरत नेपाली श्रमिकलाई कोषमा आबद्ध गराउने प्रक्रिया, उपलब्ध सुविधा र दीर्घकालीन सामाजिक सुरक्षाबारे छलफल गरेका छन् ।

क्षेत्रीय संयोजक श्रेष्ठका अनुसार सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्षदेखि पूर्वअध्यक्षहरू, सरकारी तथा राजनीतिक नेतृत्व, विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अभियन्ता र मध्यपूर्वमा नेपाली समुदायका विषयमा लामो समयदेखि पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहनेछ ।

कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान र इराकलगायत मध्यपूर्वी मुलुकमा कार्यरत लाखौँ नेपाली श्रमिकले नेपालको अर्थतन्त्रमा रेमिट्यान्समार्फत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । तर उनीहरूको श्रम अधिकार, सामाजिक सुरक्षा, रोजगारीको स्थायित्व र भविष्यको सुनिश्चितता अझै चुनौतीपूर्ण रहेको भन्दै सम्मेलनमा यी विषयलाई प्राथमिकताका साथ उठाइने आयोजकले जनाएको छ ।

विदेशमा आर्जन गरेको सीप, अनुभव र पुँजीलाई नेपालको उत्पादन, उद्यमशीलता, लगानी तथा रोजगारी सिर्जनासँग जोड्ने विषयमा समेत छलफल हुनेछ । प्रवासी नेपालीलाई रेमिट्यान्स पठाउने स्रोतका रूपमा मात्र नभई ज्ञान, सीप, प्रविधि र लगानी भित्र्याउने विकास साझेदारका रूपमा स्थापित गर्नुपर्नेमा सम्मेलनले जोड दिने अपेक्षा गरिएको छ ।

सम्मेलन व्यवस्थापन, आर्थिक परिचालन, प्रायोजन, अतिथि सत्कार, यातायात, दर्ता, सञ्चार, सांस्कृतिक कार्यक्रम तथा घोषणापत्र तयारीलगायतका लागि विभिन्न समिति र उपसमिति गठन गरी काम अघि बढाइएको छ । सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई घोषणापत्रमार्फत सम्बन्धित सरकारी निकायसमक्ष प्रस्तुत गर्ने तयारीसमेत गरिएको छ ।

श्रेष्ठले सम्मेलनलाई अहिलेसम्मकै व्यवस्थित र उपलब्धिमूलक बनाउन आफूहरू सक्रिय रहेको बताउँदै नेपाल सरकार, एनआरएनएको अन्तर्राष्ट्रिय नेतृत्व, मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्, नेपाली समुदाय, व्यवसायी तथा सञ्चारकर्मीको सहयोग आवश्यक रहेको बताएका छन् ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको समस्या समाधान, सामाजिक सुरक्षा कोषमा आब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय