Tuesday 17 November 2026 / मंगलवार, २ मंसिर २०८३

काठमाडौं, वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्किन सहमत भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलपछि उनीहरू अध्ययनलाई निरन्तरता दिन सहमत भएका हुन् ।

छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका उच्च अधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन, कलेज सञ्चालक तथा विद्यार्थी प्रतिनिधिहरू सहभागी थिए।
छलफलमा कलेज व्यवस्थापनले विद्यार्थीका माग सम्बोधन गर्दै शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता जनाएको छ । सहमतिअनुसार अध्ययनलाई निरन्तरता दिन चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक वातावरण सुनिश्चित गरिनेछ भने अन्यत्र जान चाहने विद्यार्थीलाई नियमअनुसार रेजिडेन्टबापतको रकम फिर्ता गरिनेछ ।

कलेज व्यवस्थापनले विद्यार्थीको चाहनाअनुसार शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएपछि विद्यार्थीहरू पनि अध्ययनमा फर्किन सहमत भएका हुन् । आवश्यकताअनुसार हाल भएको समझदारीलाई पछि लिखित सम्झौतामार्फत औपचारिकता दिने सहमति समेत भएको छ ।

पहिलो वर्षमा अध्ययनरत रेजिडेन्ट डाक्टरहरूले कलेज व्यवस्थापनबाट अनावश्यक मानसिक दबाब तथा दुव्र्यवहार भएको र अध्ययनका लागि आवश्यक वातावरण नरहेको आरोप लगाउँदै आन्दोलन गर्दै आएका थिए । उनीहरूले कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोग्नुपरेका समस्या मन्त्रालयका अधिकारीसमक्ष राख्दै शान्तिपूर्ण र मर्यादित शैक्षिक वातावरण निर्माणको माग गरेका थिए ।
छलफलपछि रेजिडेन्ट डाक्टरहरूले आफूहरू आशावादी रहेको जनाउँदै अध्ययन तथा काममा फर्किने प्रतिबद्धता व्यक्त गरेका छन्।
शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले रेजिडेन्ट डाक्टरहरूको समस्यालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउँदै सरोकारवालासँगको छलफलबाट समाधानको बाटो पहिचान भएको बताउनुभयो । उहाँले विगतका कमीकमजोरीलाई सुधार्दै शैक्षिक वातावरण निर्माण गर्न कलेज व्यवस्थापन र विद्यार्थी दुवै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा देवेन्द्रबहादुर खत्रीले छलफलबाट दुवै पक्षबीच समझदारी विकास भएको उल्लेख गर्दै विद्यार्थीलाई अध्ययनमा फर्किन र कलेज व्यवस्थापनलाई शैक्षिक वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

त्यस्तै, आईओएमका डीन प्राडा मोहनराज शर्माले कलेजले शैक्षिक वातावरण निर्माण गर्ने र विद्यार्थीले अध्ययनलाई निरन्तरता दिने विश्वास व्यक्त गरे। उनले भएको समझदारी कार्यान्वयन भए÷नभएको विषयमा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र आईओएमले चरणबद्ध अनुगमन गर्ने बताउनुभयो ।

कलेजका अध्यक्ष प्राडा जैनउद्दीन अन्सारीले विद्यार्थीको चाहना र मागअनुसार कलेजको शैक्षिक वातावरण सुधार गर्न व्यवस्थापन तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय