
एजेन्सी – म्यानचेस्टर सिटीले एफए कपमा च्याम्पियनसिप क्लब बर्मिङघम सिटीलाई ३–० ले पराजित गरेको छ ।
म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटीले बर्मिङघमलाई पराजित गरेको हो ।
पहिलो हाफको आठौं मिनेटमा सिल्भाको गोलबाट अग्रता लिएको म्यानचेस्टर सिटीले १५औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
अर्को एक गोल फिल फोडेनको नाममा रह्यो । ३३औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । दोस्रो हाफमा पनि सिटीले बर्मिङघमलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफको गोल नै सिटीलाई एफए कपमा अर्को चरणमा पुर्यायो ।