अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएसँगै सोसल मिडिया कम्पनी ट्वीटरको शेयर मूल्यमा भारी गिरावट आएको छ ।
सोमबार ट्वीटर कम्पनीको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट आयो । जसका कारण ट्वीटर कम्पनीको बजार मूल्य अढाई अर्ब डलरले घट्न पुगेको छ ।
ट्रम्पमाथि प्रतिबन्ध लगाउने ट्वीटरको कदमविरुद्ध रिपब्लिकन नेताहरुले आलोचना गरिरहेका छन् । ट्वीटर र ट्रम्पबीचको विवादका बीच ट्वीटरमाथि थप नियमनको आवाज उठ्नसक्ने चर्चा चलिरहेका बेला त्यसको असर ट्वीटरको शेयर मूल्यमा परेको बताइएको छ ।
ट्रम्प सर्वाधिक फलोअर्स भएका ट्वीटर प्रयोगकर्तामध्ये एक हुन् । ट्वीटरमा उनका ८ करोड ८० लाख फलोअर्स छन् भने अर्बौँ पटक उनका ट्वीटहरु रिट्वीट भैसकेका छन् ।
विश्लेषकहरुका अनुसार ट्वीटरमा यस्ता लाखौँ प्रयोगकर्ता छन् जो ट्रम्पका अन्ध समर्थक छन् । ट्रम्पमाथि स्थायी प्रतिबन्ध हुँदा ती लाखौँ प्रयोगकर्ताले ट्वीटर परित्याग गर्न सक्नेछन् ।
अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा गत हप्ता भएको घटनापछि फेसबुकले तत्कालै ट्रम्पको अकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो । तत् पश्चात् ट्वीटरले पनि ट्रम्पमाथि प्रतिबन्ध लगयो । कुनै पनि राज्य प्रमुखहरुमाथि ट्वीटरले लगाएको यो पहिलो प्रतिबन्ध हो ।
अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ट्रम्प समर्थकहरुले प्रदर्शन गर्ने सम्भावनाका बीच क्यालिफोर्नियास्थित ट्वीटर मुख्यालय बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विश्लेषकहरुका अनुसार अमेरिकी संसदमा भएको घटना पश्चात् विश्वमा सोसल मिडियाहरुमाथि कडा नियमनको युग सुरु हुनसक्ने सम्भावना छ ।