Monday 2 November 2026 / सोमबार, १७ कार्तिक २०८३

सौन्दर्य, आत्मविश्वास र सशक्त व्यक्तित्वको संगमका रूपमा आयोजना हुँदै आएको ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’ को छैटौँ संस्करणमा विनिता गुरुङ विजेता बनेकी छन्। रिबन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शनिबार राति काठमाडौंस्थित नेपाल पुलिस क्लबमा सम्पन्न ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई उछिन्दै गुरुङले यस वर्षको ताज आफ्नो नाममा पार्न सफल भएकी हुन्। मुख्य उपाधिसँगै उनले ‘तपाईंको बजार बेस्ट पर्सनालिटी’ को उपाधिसमेत प्राप्त गरिन्। विजेताका रूपमा स्कुटर पुरस्कार पाएकी गुरुङले आगामी दिनमा अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्। खोटाङकी गुरुङ नेपाल राष्ट्र बैंककी उपनिर्देशक हुनुका साथै अधिवक्तासमेत हुन्। उनी यसअघि ‘मिसेस नेपाल युनिभर्स २०२३’ की विजेतासमेत रहिसकेकी छन्। यससँगै गुरुङले राष्ट्रिय विवाहित सौन्दर्य प्रतियोगिताको मञ्चमा आफ्नो अर्को महत्त्वपूर्ण उपलब्धि थपेकी छन्। विजेता गुरुङलाई ‘मिसेस वर्ल्ड २०२५’ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), वरिष्ठ अभिनेता राजेश हमाल, अभिनेत्री तथा निर्देशक रेखा थापा र ‘मिसेस नेपाल वर्ल्ड २०२५’ की विजेता रक्षा पन्तलगायतले क्राउन तथा स्यासे प्रदान गरेका थिए।

प्रतियोगितामा नेहा गुप्ता फर्स्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप घोषित भए। गुप्ताले ‘रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस’ तथा खनालले ‘हर्लिक्स बेस्ट फिजिक’ को उपाधिसमेत हात पारे। त्यस्तै, शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल २०२६’, क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो २०२६’ र ऋचा शर्माले ‘एमएस नेपाल इन्टरनेसनल २०२६’ को उपाधि जिते। यी तीनै उपाधिका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। आयोजकका अनुसार शिल्पा र ऋचाले सिंगापुर तथा क्रिस्टिनाले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्। यीमध्ये ‘एमएस नेपाल इन्टरनेसनल २०२६’ की विजेता ऋचा शर्माको पेजेन्ट यात्रामा पनि अर्को उपलब्धि जोडिएको छ। उनी यसअघि ‘मिसेस नेपाल कल्चर २०२६’ की विजेता बनेकी थिइन्। यसरी राष्ट्रिय स्तरका विभिन्न सौन्दर्य प्रतियोगितामा सफलता हासिल गरेका प्रतिभाहरूको सहभागिताले यस संस्करणलाई थप अर्थपूर्ण बनाएको छ।

यसै अवसरमा नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याउँदै आएकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिएको थियो।

प्रतियोगितामा मुख्य उपाधिहरूसँगै विभिन्न विधागत उत्कृष्टताका आधारमा सब–टाइटलसमेत प्रदान गरियो। सन्ध्या लामा ‘अर्ना मोस्ट इनर्जेटिक’, सुष्मा थापा ‘निभिया फ्याबुलस फेस’ तथा ‘केडी फोटोग्राफी मोस्ट फोटोजेनिक’, अञ्जु परियार ‘मोस्ट ट्यालेन्टेड’, शिल्पा न्यौपाने महर्जन ‘क्युटी केयर एन्ड ब्युटी हब बेस्ट हेयर’, दीप्ति ढुंगेल ‘हेल्दी स्किन’ र क्रिस्टिना ज्ञवाली ‘बेस्ट र्‍याम्प वाक’ घोषित भए। त्यसैगरी, ऋचा शर्मा ‘दिनाज फेसन हाउस मोस्ट पङ्चुअल’, समीक्षा रानाभाट ‘आयुथ वेदा बेस्ट स्माइल’, श्वेच्छा पौड्याल ‘रिलायबल डाइग्नोस्टिक ल्याबोरेटरी मोस्ट डिसिप्लिन्ड’, कञ्चन महर्जन ‘सेन्ट्रल फेसन एकेडेमी फेसन आइकन’, बिन्दु थापा राणा ‘मोस्ट कन्फिडेन्ट’, यास्मिन बेगम सैयद ‘मिसेस कन्जेनियालिटी’ र सुनिता श्रेष्ठ कर्माचार्य ‘मिसेस ह्युम्यानिटेरियन’ को उपाधिबाट सम्मानित भए।

रिबन इन्टरटेनमेन्टका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समग्र कोरियोग्राफी अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाले गरेका थिए भने शिला बास्तोलाले निर्देशकका रूपमा नेतृत्व गरेकी थिइन्। प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, सन् २०२४ की विजेता डा. डेलिना कार्की, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, नेपाल प्रहरीकी पूर्व एआईजी मिरा चौधरी तथा सिप्रदी अटोपार्टस्कका उपाध्यक्ष युवराज बुढाथोकी सहभागी थिए। निर्णायकहरूले प्रतिस्पर्धीहरूको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व, प्रस्तुति तथा समग्र क्षमताका आधारमा मूल्याङ्कन गरेका थिए।

विवाहित महिलाहरूलाई परम्परागत सामाजिक पहिचानभन्दा माथि उठेर आफ्नो प्रतिभा, दक्षता, नेतृत्व क्षमता र व्यक्तित्व प्रदर्शन गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मूल अभिप्राय रहेको आयोजकले जनाएको छ। राष्ट्रिय मञ्चबाट अन्तर्राष्ट्रिय पहिचानसम्मको यात्रा तय गर्न प्रोत्साहित गर्ने उद्देश्यले आयोजना हुँदै आएको यस प्रतियोगिताले विवाहित महिलाहरूको सशक्तीकरण र व्यक्तित्व विकासमा समेत योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय