Tuesday 10 November 2026 / मंगलवार, २५ कार्तिक २०८३

मिस युनिभर्स नेपाल २०२६ की विजेता प्रयाश्ना गुरुङले यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न नसक्ने औपचारिक जानकारी दिएकी छन्। आगामी नोभेम्बर २४ मा पुएर्तो रिकोको सान हुआनमा आयोजना हुने मिस युनिभर्सको ७५औँ संस्करणमा सहभागी हुन अन्तिम समयसम्म प्रयास गरिए पनि त्यो सम्भव हुन नसकेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्। भिसासम्बन्धी जटिलताका कारण उनको सहभागिता प्रभावित भएको समाचार सार्वजनिक भइरहेका बेला प्रयाश्नाले भने आफ्नो घोषणामा समस्याको ठोस कारण खुलाएकी छैनन्। उनले मिस युनिभर्स अर्गनाइजेसन तथा मिस युनिभर्स नेपाल र यस प्रक्रियामा संलग्न सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्दै अन्तिम क्षणसम्म आफ्नो सहभागिता सुनिश्चित गर्न प्रयास गरिएको उल्लेख गरेकी छन्। यद्यपि, उनले निराशाबीच आशाको नयाँ अध्याय पनि सार्वजनिक गरेकी छन्। प्रयाश्नाले सन् २०२७ को मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने घोषणा गर्दै आफूलाई थप तयारीका लागि एक वर्षको समय प्राप्त भएको बताएकी छन्।

अन्तर्राष्ट्रिय तयारीका लागि एक वर्षको समय
प्रयाश्नाका अनुसार यसअघि राष्ट्रिय उपाधि जितेपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी करिब एक महिनाभित्र सम्पन्न गर्नुपर्ने अवस्था थियो। अब भने आफूले मात्र नभई आगामी मिस युनिभर्स नेपाल विजेताले समेत अन्तर्राष्ट्रिय सहभागिताका लागि पूरा एक वर्ष तयारी गर्ने अवसर पाउनेछिन्। यसले प्रशिक्षण, व्यक्तित्व विकास, प्रस्तुति कला, वकालत अभियान तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्न पर्याप्त समय उपलब्ध गराउने अपेक्षा गरिएको छ। गत सेप्टेम्बर २७ मा द सोल्टी काठमाडौंमा सम्पन्न मिस युनिभर्स नेपाल २०२६ को अन्तिम प्रतिस्पर्धामा १०६ प्रतिस्पर्धीलाई पछि पार्दै प्रयाश्नाले उपाधि जितेकी थिइन्। भैरहवाको प्रतिनिधित्व गरेकी उनी यस उपाधि जित्ने पहिलो विवाहित महिला बनेर नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा समेत चर्चित रहिन्। बेलायतमा बसोबास गर्दै आएकी प्रयाश्ना महिला सशक्तीकरणसम्बन्धी अभियान ‘द डिग्निटी’सँग पनि आबद्ध छिन्। विवाहित महिलालाई समेत प्रतिस्पर्धामा सहभागी हुन अनुमति दिने मिस युनिभर्सको परिवर्तित मापदण्डअनुरूप उनको वैवाहिक अवस्थाले अन्तर्राष्ट्रिय सहभागितामा कुनै बाधा पुर्‍याएको थिएन।

२०२७ तर्फ नयाँ आशा
मिस युनिभर्सको ७५औँ वार्षिकोत्सव संस्करणमा नेपालको सहभागिता गुम्नु नेपाली पेजेन्ट क्षेत्रका लागि निराशाजनक भए पनि प्रयाश्नाले यसलाई आफ्नो यात्राको अन्त्य नभई थप तयारीको अवसरका रूपमा लिएकी छन्। प्रयाश्नाको अन्तर्राष्ट्रिय यात्रा अब सन् २०२७ तर्फ केन्द्रित भएको छ। यस वर्षको अवसर गुमे पनि थप तयारी र नयाँ आत्मविश्वाससहित विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्ने उनको लक्ष्य भने यथावत् रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय