Monday 2 November 2026 / सोमबार, १७ कार्तिक २०८३

पूर्णिमा शाही ठकुरी र सुनिता आचार्यले क्रमशः ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२६’ र ‘मिसेस हेरिटेज इन्टरनेसनल नेपाल २०२६’ को उपाधि प्रदान गरिएको छ । उनीहरूले आगामी नोभेम्बर २० देखि २७ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने हेरिटेज पेजेन्ट्स २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । बत्तीसपुतलीस्थित द स्ट्र्यान्ड लाउन्ज एन्ड बारमा आयोजित विशेष समारोहमा उनीहरुलाई उपाधिको ताज पहि¥याइएको हो । कर्णाली प्रदेशकी २१ वर्षीया पूर्णिमा शाही ठकुरीलाई ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२५’ तथा ‘मिस हेरिटेज इन्टरनेसनल २०२५’ की फोर्थ रनर अप दिव्या पत्राले ताज पहि¥याएकी थिइन् । बीबीएस अध्ययनरत पूर्णिमाले यसअघि सन् २०२३ मा ग्रिन आट्र्स मिडिया प्रालिद्वारा आयोजित ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल’ मा सेकेन्ड रनरअपको उपाधि हासिल गरेकी थिइन् ।

त्यसैगरी, चितवनकी ३३ वर्षीया सुनिता आचार्यलाई ‘मिसेस हेरिटेज इन्टरनेसनल नेपाल २०२५’ तथा ‘मिसेस हेरिटेज इन्टरनेसनल २०२५’ की थर्ड रनर अप दुर्गा ढकालले ताज पहि¥याइन्। सामाजिक अभियन्ता तथा व्यावसायिक ब्युटिसियन सुनिता महिला सशक्तीकरण, सामाजिक सेवा र समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा सक्रिय छिन् ।

समारोहमा अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, चर्चित फोटोग्राफर महेश प्रधान, ‘मिस इको इन्टरनेसनल नेपाल २०२६’ सेजल राजभण्डारी, ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ आज्मा महर्जन तथा पत्रकार कुबेर गिरीलगायत फेसन, सञ्चार र सौन्दर्य प्रतियोगितासँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि दुवै विजेताले फेसन कोरियोग्राफर तथा हेरिटेज पेजेन्ट्स नेपालकी नेसनल डाइरेक्टर अनिला श्रेष्ठको निर्देशनमा प्रशिक्षण र तयारी गर्नेछन् । ग्रीन आट्र्स मिडिया प्रालिद्वारा नेपालमा आयोजना गरिएको यस प्रतियोगिताले सौन्दर्यसँगै प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्य राखेको छ । अब पूर्णिमा र सुनिताले नेपालको कला, संस्कृति, परम्परा र सम्पदाको गौरव बोकेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो उपस्थिति जनाउनेछन् ।

सन् २०१४ मा सिंगापुरस्थित इप्लानेट प्राइभेट लिमिटेडद्वारा आयोजना थालिएको हेरिटेज पेजेन्ट्स परम्परागत सौन्दर्य प्रतियोगिताभन्दा फरक पहिचान बोकेको अन्तर्राष्ट्रिय मञ्च हो । शान्ति, वातावरण, पर्यटन, संस्कृति र सम्पदा यसको मूल अवधारणा हो । यसले सांस्कृतिक विविधताको प्रवद्र्धन, वातावरणीय चेतना, पर्यटन विकास तथा मौलिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै प्रतियोगीहरूलाई आ–आफ्नो देशको सांस्कृतिक दूतका रूपमा प्रस्तुत हुने अवसर प्रदान गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय