Sunday 8 November 2026 / आईतवार, २३ कार्तिक २०८३

काठमाडौं, नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ तथा होक्काइडो ग्रुपको सातौँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा जापानी फुड फेस्टिभल आयोजना भइरहेको छ। होक्काइडो ग्रुप र र्‍याडिसन काठमाडौँको सहकार्यमा सञ्चालित उक्त फेस्टिभलले जापानी खानाको परम्परा, पाककला तथा सांस्कृतिक अभ्यासलाई नेपालीमाझ प्रस्तुत गरेको छ।

काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन काठमाडौँ परिसरमा रहेको होक्काइडो एसियन कुजिनमा नोभेम्बर ३ देखि ९, २०२६ सम्म सञ्चालन भइरहेको फेस्टिभलमा जापानी खानाका विविध परिकार, प्रत्यक्ष पाककला प्रदर्शन तथा सांस्कृतिक गतिविधि समावेश गरिएका छन्।

फेस्टिभलमा दैनिक साँझ ५ बजेदेखि ८ बजेसम्म जापानी डिनर बुफे तथा अनलिमिटेड सुसीको व्यवस्था गरिएको छ। प्रतिव्यक्ति तीन हजार रुपैयाँ शुल्क निर्धारण गरिएको बुफेमा एउटा सफ्ट ड्रिंक, कर तथा सेवा शुल्कसमेत समावेश छन्। आयोजकका अनुसार आगन्तुकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले दैनिक ७० जनाका लागि मात्र सहभागिता सीमित गरिएको छ।

फेस्टिभलको प्रमुख आकर्षण जापानबाट आएका सुसी कलाकार काजुयुकी हायाशीको प्रत्यक्ष पाककला प्रस्तुति रहेको छ। उनले आगन्तुककै अगाडि सुसी तयार गर्ने प्रदर्शनमार्फत जापानी पाककलाको सीप, शैली र परम्परालाई प्रस्तुत गरिरहेका छन्। कार्यक्रममा निगिरी सुसी, होसोमाकी रोल, तेप्पान्याकीलगायत जापानी खानाका विभिन्न परिकार समावेश छन्। करिब ४८ परिकारलाई नौवटा फरक विधामा प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

खानाका परिकारसँगै जापानी संस्कृतिको परिचय गराउने उद्देश्यले फेस्टिभलमा जापानी क्यालिग्राफी तथा माचा चिया बनाउने परम्परागत विधिको प्रदर्शनसमेत राखिएको छ। यसले आगन्तुकलाई जापानी खानाको स्वादसँगै त्यहाँको कला, संस्कृति र जीवनशैलीबारे जानकारी लिने अवसर प्रदान गरेको छ।

यसै वर्ष होक्काइडो ग्रुपले आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सव पनि मनाइरहेको छ। सन् २०१९ मा नेपालमा व्यावसायिक यात्रा सुरु गरेको यस समूहले सात वर्षको अवधिमा जापानी खानामा आधारित रेस्टुरेन्ट व्यवसाय विस्तार गर्दै आएको छ। समूहका संस्थापक अर्जुन अधिकारीले जापानमा प्राप्त आतिथ्य सेवा तथा पाककलासम्बन्धी अनुभवलाई नेपालमा विस्तार गर्ने उद्देश्यसहित व्यवसाय सुरु गरेका हुन्।

पार्क भिलेज रिसोर्टबाट सुरु भएको होक्काइडो ग्रुपको व्यावसायिक यात्रा हाल काठमाडौं उपत्यका, पोखरा र चितवनसम्म विस्तार भएको छ। समूहले हाल १० वटा रेस्टुरेन्ट तथा आउटलेट सञ्चालन गरिरहेको जनाएको छ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ र होक्काइडो ग्रुपको सातौँ वार्षिकोत्सवलाई एकैसाथ जोडेर आयोजना गरिएको यस फेस्टिभलले दुई देशबीचको सांस्कृतिक सम्बन्ध र जनस्तरको आदानप्रदानलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। साथै, नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय खानाको अनुभव विस्तार गर्न र जापानी खानाको पहिचान प्रवर्द्धन गर्न पनि कार्यक्रमले योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय