Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

मान्म,सरकारले निषेधाज्ञा अवधिभरि खाद्यान्नको चामलमा २० प्रतिशत छुट दिने निर्णय गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा चामल लिनेको भीड लाग्ने गरेको छ । एक महिनादेखि निषेधज्ञा झेलिरहेका विपन्न नागरिकहरु जीविकोपार्जनमा समस्या भएपछि चामल लिनेको भीड लागेको हो ।
कालिकोटमा खाद्य संस्थानले नुन र चामलमा २० प्रतिशत छुट दिएका कारणले गाउँदेखि विपन्न नागरिकहरु दैनिक ३ सयको हाराहारीमा कम्पनीको कार्यालयमा आउने गरेको छन् ।
कोरोनाका कारणले पीडित भएका नागरिकहरु गाउँ गाउँदेखि सहुलियतको चामल र नुन लिन आउने गरेको कम्पनीको कालिकोट शाखा प्रमुख शरण लामिछानेले बताए । “दैनिक ७६ क्विन्टलदेखि १०० क्विन्टल चामल बिक्री हुने गरेको छ”, उनले भने, “काम गर्न नपाएका विपन्न नागरिकले अहिले सहुलियतको चामल धमाधम लिन थालेका छन् ।”

सोमबारसम्म मान्म शाखामा १ हजार ३ सय, पादमघाट डिपोमा ४ सय २३, खल्लागाडमा १ सय १०, थिर्पूमा ८६ क्विन्टल चामल मौज्दात रहेको कम्पनीको कार्यालयले जनाएको छ ।

त्यस्तै, सरकारले कर्णालीका बासिन्दाका लागि लागू गरेको जन्ममरण संस्कारको चामल कालीकोटमा बढी खपत हुने गरेको छ । सरकारले कर्णालीका हिमाली जिल्लामा जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने घोषणा गरेको छ ।
कम्पनीले ढुवानी ज्यालासहित यो वर्ष २ सय ७० क्विन्टल चामल जन्म र मृत्यु संस्कारमा वितरण गरेको छ ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जन्मबापत १ हजार ४ सय ५२ जनाले २० किलोको दरले २ सय ९० क्विन्टल र मृत्युबापत ४७ जनाले ९ क्विन्टल चामल पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय