Friday 29 March 2024 / शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं । नेपाल सरकारको गृहमन्त्रीको रुपमा खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै अधिकारीलाई गृहमन्त्रीको जिम्मेवारी प्रदान गरेका हुन् ।

विसं २०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसँगै सक्रिय राजनीतिका रहेका अधिकारीले लामो समय भूमिगत राजनीतिक जीवन बिताएका थिए ।

२०३६ सालमा विद्यार्थी आन्दोलनका अगुवाई गरेका उनी दुईपटक पोखरास्थित पृथ्वी नारायण क्याम्पसको स्ववियू सभापति बनेका थिए ।

पञ्चायत विरुद्धको आन्दोलनका अग्रमोर्चामा रहेर नेतृत्व गरेका अधिकारीले पाँच वर्ष जेल जीवन विताएका छन्। अधिकारी २०४६ सालमा नेकपा एमाले कास्कीको सचिव र २०५० देखि ५३ सम्म पार्टी अध्यक्षको जिम्मेवारीमा थिए । नेकपा एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र पोलिटब्यूरो सदस्य समेत बनेका थिए ।

नेकपा एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा एक मतले मात्रै पराजित अधिकारी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बनेका थिए । तत्कालीन गण्डकी अन्चल कमिटीको सचिव हुँदै संयोजक बनेका अधिकारी पहिलोपटक २०५१ सालमा कांग्रेसका प्रभावशाली नेता तारानाथ रानाभाटलाई हराउँदै कास्की क्षेत्र नं १ बाट निर्वाचित भई प्रतिनिधिसभा सांसद बनेका थिए ।

त्यससमय तत्कालिन एमाले संसदीय दलको नेता रहेका मनमोहन अधिकारीले उनलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । उनी २०५६ र २०६४ सालको निर्वाचनमा उम्मेदवार बनेपनि पराजित भए । २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री बनेका अधिकारीले नेपालमै पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थिए । आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रालयको बेथितीलाई चिर्न सफल बनेका उनी सफल स्वास्थ्यमन्त्रीको रुपमा परिचित छन् ।

नेपालको संविधान जारी भइसकेपछि २०७३ सालको प्रतिनिधि सभामा कास्की क्षेत्र नं १ बाट करिब १४ हजार मतान्तरले निर्वाचित अधिकारी नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतक बनेका थिए । हाल नेकपा एमाले स्वास्थ्य विभाग प्रमुख रहेका अधिकारीकै पहलमा गतसाता सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागी ल्याएको अध्यादेशको मस्यौदा ल्याएको छ ।

कार्यकर्ताहरुमाझ अत्यन्तै सरल रुपमा प्रस्तुत हुने उनलाई कार्यकर्ताहरु विकासप्रेमि नेताको रुपमा लिने गर्दछन् । २०१८ सालमा कास्कीको बेगनासमा जन्मिएका अधिकारीले नेपालीमा स्नातककोत्तर गरेका छन् ।
साभार : मेनसमाचारडटकम

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय