सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिका छलफलमा भाग लिँदै सत्तापक्षका प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममा धेरै विषय छुटेको गुनासो गर्नुभयो । प्रदेशसभाको आजका बैठकमा आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रस्तुत गरिएको नीति कार्यक्रमको सैद्धान्तिक छलफलमा भाग लिदै सत्तापक्षीय सदस्य नेपालु चौधरी र पठानसिंह बोहराले नयाँ कार्यक्रममा नयाँपन केही नदेखिएको र समेट्नु पर्ने धेरै विषय छुटेको बताउनुभयो ।
सत्तापक्षका सदस्यहरु हर्कबहादुर कुवँर,अमरबहादुर साउद,देवकी मल्ल, प्रेमप्रकाश भट्ट,सुशीला बुढाथोकी र नन्दबहादुर साउदले भने नीति कार्यक्रम कार्यान्वयनमा उतार्नुपर्छ भन्नुभयो ।
छलफलमा भाग लिँदै प्रतिपक्षी दलका प्रदेश सभाका सदस्यले नीति कार्यक्रम अनुसारको बजेट विनियोजन गरी कार्यान्वयनमा गर्र्न,तीनवटै तहका सरकारसँग समन्वय गरेर काम गर्न, बजेट बाँडफाँडमा समानुपातिक सदस्यलाई विभेद नगर्न सुझाब दिनु भएको थियो । उहाँहरुले नीति कार्यक्रममा दलित,राउटे, मुक्त हलिया, मुक्त कमैया र कम्लहरी,जस्ता सीमान्तकृत वर्गको हक हितको विषय छुट्टा छुट्टै रुपमा सम्बोधन गर्र्न र बादी समुदायको गाँस र आवासको व्यवस्थापनमा जोड दिनुभएको थियो । यसरी आफ्नो विचार राख्ने सदस्यहरुमा डिल्लीराज पन्त,टेकबहादुर रैका,अम्बीकुमारी थापा र उमाकुमारी बादी हुनुहुन्थ्यो ।
यस अघि बैठक प्रारम्भ हुनासाथ सभामुखवाट समय लिएर प्रदेश सभा सदस्य लीलाधर भट्टले वाग्मती प्रदेशसभाका एक सदस्यले देशका कार्यकारी प्रमुख प्रधानमन्त्रीका बारेमा दिनुभएको अभिव्यक्ति प्रति खेद व्यक्त गर्नु भयो । छलफल आइतबार पनि जारी रहने छ ।
