Friday 30 July 2021 / शुक्रबार, १५ श्रावण २०७८

रुपन्देही, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्रेक्टर जोताईंको नयाँ भाडा दर कायम गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो । नगरपालिकाले ट्रेक्टरधनीका प्रतिनिधि समेतको उपस्थितमा सरोकारवालासँग छलफल गरेर नयाँ भाडा दर कायम गरिएको वडा नं १३ का अध्यक्षसमेत रहनुभएका भाडादर निर्धारण समितिका संयोजक गणेश न्यौपानेले जानकारी दिनुभयो ।

कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसान मर्कामा थिए । तिलोत्तमामा सर्वपक्षीय छलफलबाट ट्याक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा रु एक हजार ४४० र रोटाभेटर जोताई भाडा प्रतिघण्टा रु एक हजार ८५० कायम गरिएको हो । डिजलको मूल्यवृद्धि, बजारको अवस्था लगायतको आधारमा २०७७ वैशाखमा निर्धारण गरिएको भाडादरलाई समायोजन गरिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । अब तिलोत्तमा नगरपालिकामा निर्धारण गरिएभन्दा बढी भाडा लिन पाइनेछैन । तर, ट्रेक्टरव्यवसायीले तोकिएभन्दा कम भाडा लिन सक्नेछन् ।

तिलोत्तमा नगरपालिकामा ट्याक्टरको वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ । तिलोत्तमा नगरपालिकाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । प्रमुख खाद्यबाली धान रोपाईं प्रारम्भ हुँदै गर्दा ट्रेक्टरको नयाँ जोताईं भाडादर कायम गरिएको हो । तोकिएकोभन्दा बढी भाडा कसैले लिए सम्बन्धित निकायमा जानकारी गराउन समिति संयोजक न्यौपानेले किसानलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय